वीरगञ्ज महानगरकाे ३२ वटै वडा झिलिमिली

 पुष ८, २०७९ शुक्रबार १६:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिली बनेको छ । उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा चोक–चोकमा बत्ती जडान भएसँगै ३२ वटै वडा झिलिमिली बनेको हो । 

टोल–टोलमा रहेका पोल र सडकमा बत्ती जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत् शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिनुभयाे । सङ्घ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज  महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियानअन्तर्गत ३२ वटै वडामा १३ हजारभन्दा बढी बल्ब जडान गरिएको छ ।  

३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन । महानगरपालिकाले असार १९ गते श्वेत पत्र सार्वजनिक गर्दै यसअघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको उल्लेख गरेको थियो । 

नयाँ नेतृत्व आएसँगै कामलाई तीव्रता दिएपछि तीन महिनामा अभियानअन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिली बनेको हो ।

सम्झाैताअनुसार १०० वाट, ६० वाट र ४० वाटको गरी कुल १३ हजार ३ सय ९० वटा बत्ती र १ सय भन्दा बढी कन्ट्रोल प्यानल जडान गर्ने काम सकिएको शाखाका इन्जिनियर उपाध्यायले जानकारी दिनुभयाे । 

केही वडामा पहिले जडान भएको बत्ती नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले धेरैजसाे बत्ती बल्ने गरेको छ । 

सूर्योदय ऊर्जा, तोप्सन इनर्जी जेभी काठमाण्डौले २३ करोड ९६ लाख २४ हजार रुपैयाँमा ठेक्कामा काम गरेका थिए । सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएरमात्रै काम अन्तिम चरणमा पुगेको हो । 

जडान भएका बत्तीमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत् शाखाले सबैलाई आग्रह गरेको छ । विगतमा बत्ती नबलेको गुनासो दैनिक आउने गरेको भए पनि अहिले मर्मत र जडानको कामलाई तीव्रता दिएकाले गुनासो आउन पनि कमी भएको छ । आएका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी टोली परिचालन हुने हुँदा गुनासो आउन कम भएको बताउनुहुन्छ विद्युत् शाखाका इन्जिनियर उपाध्याय ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया