हस्तान्तरण नहुँदै जीर्ण बन्याे स्वास्थ्य चाैकी

 पुस ८, २०७९ शुक्रबार १७:४३:३९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गाउँमा नै स्वास्थ्य केन्द्रको भवन बनेपछि सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिएका वालिङ नगरपालिका १० का बासिन्दा अहिले भने चिन्तित बनेका छन् । सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको दुई वर्षमै जीर्ण हुँदा यहाँका बासिन्दा चिन्तित बनेका हुन् । 

स्वास्थ्य केन्द्रको भवन नगरपालिकालाई हस्तान्तरण नहुँदै जीर्ण बन्दै गएको हो । स्थानीय युवा नारायणप्रसाद पंगेनीले भन्नुभयो, ‘राज्यको सम्पत्ति बालुवामा पानी हालेको जस्तै भएको छ तर कसैलाई चासो छैन ।’ दुई वर्ष अगाडि निर्माण भएको भवन यस्तो अवस्थामा रहनु निकै दुःखद भएको उहाँले बताउनुभयो । 

‘भवन निर्माणमा लापर्बाही हुँदा जताततै चर्किएको छ, शौचालय प्रयोग गर्नै नमिल्ने छ, धाराको पाइप फुटेर रसाउने समस्या भएको छ, नयाँ भवन भन्न पनि लाजै लाग्ने अवस्थामा छ’, अर्का युवा सूर्यप्रसाद पौडेलले गुनासो गर्नुभयो । ठेकेदारको लापर्बाही र इन्जिनियरको मिलेमतोमा भवनको अवस्था यस्तो भएको उहाँको आरोप छ । 

सहरी स्वास्थ्य केन्द्र चार वर्षदेखि स्थानीय क्लबको भवनमा सञ्चालन हुँदै आएको छ । ‘साँघुरो भवनमा दुःखका साथ सेवा दिइरहेका छौँ तर नयाँ भवनबाट कहिले सेवा दिन पाइने हो टुङ्गो छैन’, स्वास्थ्य केन्द्रकी प्रमुख सम्झना श्रेष्ठले गुनासो गर्नुभयो । स्वास्थ्य केन्द्रले दैनिक २० जनाभन्दा धेरैलाई सेवा दिँदै आएको उहाँले बताउनुभयो । नयाँ भवनमा सर्न नपाउँदा एउटै कोठाबाट सबै काम गरिरहेको र ड्रेसिङ लगायतका काम भने खुला ठाउँमा नै गर्ने गरेको उहाँको भनाइ छ ।  

भवनको निर्माण काम गरेको सिद्धबाबा निर्माण सेवाका सञ्चालक चोपनारायण श्रेष्ठले काम सकिसकेको दाबी गर्नुभयो । भवनको अवस्थाबारे जानकारी गराएपछि श्रेष्ठले भन्नुभयो, ‘हामीले भवन बनाएर सकेका हौँ, निर्माणपछि सबै रकमसमेत लिइसकेका छौँ ।’

वालिङ नगरपालिकाका इन्जिनियर मणिप्रसाद तिवारीले भवन निर्माण सम्पन्न भइ पुनः रङ्गरोगनको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले भवनको सबै काम सकाउन ठेकेदारलाई भनेका छौँ । अब तत्कालै नयाँ भवनबाट सेवा सुरु गराउने व्यवस्था मिलाउँछौँ ।’ 

२७ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको जानकारी दिँदै उहाँले भवन र वालको ठेक्का फरक–फरक व्यक्तिलाई पर्दा समन्वयको अभावमा समस्या भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया