पर्यटक भित्र्याउन भेडेटारमा 'फूड फेस्टिवल'

 पुष १६, २०७९ शनिबार १८:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यकासाथ आज (शनिवार)देखि धनकुटाको भेडेटारमा तीन दिने फूड फेस्टिवल शुरु भएको छ । 

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फूड फेस्टिवलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो । सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिवलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फूड फेस्टिवललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवर्द्धनका रुपमा समेत लिइएको छ । होटल एशोसिएशन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने बताउनु भयो । 

पूर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटारमा आयोजित फूड फेस्टिवल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ । फेस्टिवलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गन्तव्यका रुपमा चित्रित गर्न थप मद्यत पुर्‍याउने विश्वास लिइएको छ ।

फेस्टिवलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनु भयो । उहाँले अंग्रेजी नयाँ वर्षमा बाहिरबाट आउने पर्यटकको स्वागतका लागि कार्यक्रम राखिएको बताउनु भयो ।  

फेस्टिवलमा गाउँपालिका माैलिक खानेकुरा र स्थानीय कृषि प्रदर्शनीसहितको स्टल राखिएका छन् । फेस्टिवल अवधिभर भेडेटारको रमणीय क्षेत्रको भ्रमण गराइने तथा हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने आयोजकले जनाएको छ । 


 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया