प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

 पुस १७, २०७९ आइतबार १३:५७:३९ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय  विमानस्थलको उद्घाटन गर्नुभएको छ । 

आज आइतवार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिकरूपमा उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटनका लागि उहाँ आज बिहान सङ्घीय राजधानी काठमाण्डाैबाट पोखरा आइपुग्नुभएको हो । कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल लगायतको उपस्थिति रहेकाे छ । 

यसअघि पाेखरा क्षेत्रमा हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । समारोहमा पोखरावासीकाे उत्साहजनक उपस्थिति रहेको छ ।

पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीईले निर्माण गरेको हो । गएकाे वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गर्नुभएकाे थियाे ।चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण भएको हो । चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा याे विमानस्थल निर्माण थालेको थियो । याे विमानस्थल तीन हजार आठ सय ९९ रोपनी जग्गामा फैलिएकाे छ । 

२०३२ सालमै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन हजार एक सय छ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया