मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज आहा रारा गाेल्ड कपको सेमिफाइनलमा

 पुस १७, २०७९ आइतबार १८:५:३५ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – मच्छिन्द्र एफसीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब आहा रारा पोखरा गोल्ड कपकाे सेमिफाइनलमा पुगेकाे छ । 

शहीद स्मारक 'ए' डिभिजन लिगको साविक विजेता मच्छिन्द्रलाई तीन–एक गाेलले हराउँदै 'ए' डिभिजन लिगकाे नवप्रवेशी टिम चर्च ब्वाइज सेमिफाइनलमा पुगेकाे हाे । 

पहिलो हाफमै दुई गोलले पछि परेको मच्छिन्द्रले दोस्रो हाफमा भने केही सुधारिएको खेल प्रदर्शन गर्‍याे । चर्च ब्वाइजले खेलकाे २३ औँ मिनेटमा गाेल गर्‍याे । अञ्जन विष्टले मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठमात्रै भएको अवस्थामा गरेको हेडरलाई किपरले बचाएका थिए । तर क्लियर हुन नसकेको बललाई आशिष चापागाँईले गोलमा परिणत गरे ।

चर्च ब्वाइजले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै पहिलो हाफमा दुई–शून्यकाे अग्रता बनायो । आशिष चापागाँईले मच्छिन्द्रका तीन जना डिफेन्डरकाे बीचबाट प्रहार गरेको बल गाेलमा परिणत भयाे । 

चर्च ब्वाइजले खेलकाे ६७ औँ मिनेटमा अर्को गोल थप्यो । आशिष चापागाँईको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे । खेलको ८९ औँ मिनेटमा मच्छिन्द्रका सौरभ सुब्बाले सान्त्वना गोल गरे । त्यसपछि थप गाेल हुन नसकेपछि चर्च ब्वाइज तीन-एकले विजयी भयो । खेलमा चर्च ब्वाइजका आशिष चापागाँई म्यान अफ दि म्याच भए । 

भाेलि सोमवार तेस्रो क्वाटरफाइनल खेलमा सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया