देशमै रोजगारी सिर्जना गराैँ, श्रमिक र श्रमको सम्मान गरौँ

 पुस २१, २०७९ बिहिबार १४:१५:३० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

मात्रिका चाम्लिङ/खोटाङ्ग, हाल मलेसिया

दैनिक मजस्ता हजारौँ युवाहरु रोजगारीको खोजी गर्दै परदेशिने क्रम रोकिएको छैन । अदक्ष मात्र होइन दक्ष जनशक्ति पनि कामको खोजीमा विदेश गइरहेको छ । देशमा उद्योगधन्दा नहुँदा, पर्याप्त रोजगारी नहुँदा, उचित पारिश्रमिक नहुँदा मलेसिया लगायत गाडी देशहरु हाम्रा रोजगारीका गन्तव्य बनेका छन् ।

दुःख पाएर पासपोर्ट बनाउने र दुःख गर्नैको लागि परदेशिनु हामीहरुको बाध्यता बनेको छ अहिले । यसरी विदेशिने युवाहरु कोही पनि रहेरले विदेशिएका छैनन् ।

आफ्नो घरपरिवारलाई केही खुशी दिन र घरको आर्थिक अवस्था सुधार्न हामी विदेशिएका छाँै । तर विदेश जानको लागि घरदेखि विमानस्थल पुग्दासम्म अनेक दुःख झेल्नुपर्छ ।  राष्ट्रिय परिचयपत्र बनाउन होस् या पासपोर्ट बनाउन, लाइल धेरै काम कम हुन्छ । यस्तै म्यानपावर कम्पनी खोज्नेदेखि कुन देशमा के काम गर्न जाने भनेर बुझ्नमै महिनौँ पनि लाग्छ कहिल्यै । त्यसैमाथि भिसा हात पर्ने दिन कुरेर कहिलेकाहीँ त वर्षौँसम्म पनि बस्नुपर्छ । बसेका छन् नेपाली युवाहरु ।

सरकारले फ्री भिसा फ्री टिकेट भने पनि ठूलो रकम लिन्छन् म्यानपावर कम्पनी । यसको मार पनि श्रमिकलाई नै पर्ने हो । खाडी मलेसिया जान पनि दुईतीन लाख रुपैयाँ लिएका घटनाहरु पनि छन् । यस बारेमा हामीले कसलाई उजुरी गर्ने ? उजुरी गरौँ त फेरि हामी युवाको विदेश जाने सपना सधैँको लागि बन्दा होला भन्ने डर । नगरौँ, विरोध जनाउँ भने देशमै केही गर्ने वातावरण छैन ।

यही डरले गर्दा म्यानपावरले  जति मागे पनि आँखा बन्द गरेर लाखौँ रुपैयाँ बुझाउने र पन्ध्र हजारको बिलमा सही गरेर हिँड्ने क्रम चलिरहेको छ ।

यसरी अनेक दुःख खेपेर विदेश गएपछि पनि त्यहाँ कुनै समस्या परेमा कसलाई भन्ने ? यो पनि समस्या हुन्छ । कहिले दूतावासले कुरा सुन्दैनन्, कहिले म्यानपावरले जिम्मा लिँदैनन् । वैदेशिक रोजगारीमा गएका नेपाली युवाले पठाउने रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानेको छ । तर त्यही युवाको समस्यामा नेपाल सरकार कुनै पनि नीतिगत तथा व्यावहारिक काम गर्दैन । उल्टै विदेशबाट आउँदा ल्याएको एउटा थप मोबाइलमा पनि नजर लगाएर बस्छ । चोरेर ल्याएको जस्तो व्यवहार देखाउँछ । 

आफ्नो घरपरिवारका सदस्य तथा साथीभाइको लागि उपहारस्वरुप एउटा मोबाइल पनि ल्याउन नदिने । सरकारले नै यस्तो निर्देशन दिएको हो कि कर्मचारीको व्यवहार नै यस्तो हो ?

अहिले नयाँ सरकार आएको छ, यसले केही गर्छ कि भन्ने आशा पनि छ र चुनौती पनि । यो सरकारले रोजगारीकै लागि विदेश पलायन हुने अवस्थालाई रोक्नुपर्छ । युवाहरुलाई सीप र अवसर दिनुपर्छ । पालिका तहमै रोजगारी सृजना गर्नुपर्छ । 

यसरी सबै मिलेर नयाँ नेपालको विकास गरौँ । देशमै रोजगारी सिर्जना गराैँ । श्रमिक र श्रमको सम्मान गरौँ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया