आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको न्यायका लागि सरकारविरुद्ध प्रदर्शन

 माघ ११, २०७९ बुधबार १६:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मङ्गलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदे माग पूरा गर्न सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।

काठमाण्डौको माइतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै विरोध भएको छ । मङ्गलवार आफूमाथि पेट्रोल छर्किएर आगो लगाइ आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधवार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

विभिन्न व्यवसाय गर्न खोज्दा व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेख्नुभएको थियो ।

प्रदर्शनमा उत्रिएकी एक आन्दोलनकारीले मतदाताहरुले नयाँ शक्तिको रुपमा सत्तामा पुर्‍याएकाहरुले यो अवस्थाको सिर्जना गर्नेहरुलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताउनु भयो । 

उहाँले बैंकहरुले उद्योगीहरुलाई दिने ऋणमा सहुलियत दिनुको ठाउँमा उल्टै कमिसन खाने जस्ता कुराहरुले उद्योगी, व्यवसायीहरु झनै पीडामा परेको बताउनु भयो ।

उहाँले गृहमन्त्री रवि लामिछानेले माफी मागेर मात्रै घटना नसकिने भन्दै यो अवस्थामा लैजान प्रेरित गर्ने सबैलाई कारबाही गर्नसकेमात्र मृतकप्रति न्याय हुने बताउनु भयो । 

आत्मदाह गरेका आचार्यलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरूले सरकारविरुद्ध विभिन्न नाराबाजीसहित विरोध गरेका छन् ।

‘यो देश हो कि बधशाला ?, अर्काे जल्दो शरीर मेरो नहोस्, उद्यमशील नेपाल, नेपाल नारा मात्रै हो ? प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ? यो आत्महत्या होइन हत्या हो ? ठूला व्यापारी कसको आश्रयमा ? स्व.आचार्यका २५ बुँदे माग पूरा गर्’ लगायतका पर्चा बोकेर युवाहरूले विरोध जनाएका छन् ।  

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भुवन मगर

    Jan. 25, 2023, 4:29 p.m.

    २५ बुदे माग जसरी भयनि सरकारले पुरा गर्नु पर्छ!

  •  0 Reply

तपाईको प्रतिक्रिया