हिजो आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने गृहमन्त्री लामिछानेका प्रतिबद्धता

 माघ ११, २०७९ बुधबार १६:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गृहमन्त्री रवि लामिछानेले हिजो संसद् भवन अगाडि आफैँलाई जलाएका कारण ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुमा छानबिन गर्ने बताउनुभएको छ ।

मृतकलाई श्रद्धाञ्जली दिन र आफन्तलाई सहानुुभूति दिन कीर्तिपुर अस्पताल पुग्नुभएका लामिछानेले आयार्यले धेरै गम्भीर विषय उठाएकाले सरकारले छानबिन गर्ने बताउनुभएको हो ।

आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा आचार्यले आफूले उद्यम गर्न खोज्दा बैंक, सहकारी, विभिन्न सुपर मार्केट, सरकारी कार्यालय लगायतबाट ठगिएको र धोका पाएको उल्लेख गर्नुभएको छ ।

‘उहाँले उठाएका छानबिन गर्नुपर्ने विषयलाई छानबिन गर्छाैँ, सचेत हुनुपर्ने विषयमा सचेत हुन्छौँ, मैले बोलेको कुरा पूरा गर्नेछु,’ आचार्यका आफन्तसँग गृहमन्त्री लामिछानेले भन्नुभयाे ।  

आफूले देश र नागरिकका लागि केही गर्छु भनेर भर्खरै काम थाल्दा विभिन्न चुनौती आएको तर चुनौतीसँग नभाग्ने गृहमन्त्रीले बताउनुभयो । 

आत्मदाह गर्नुभएका आचार्यलाई सरकारले केही गर्छ भन्ने विश्वास दिलाउन नसकेकोमा आफू दुःखी भएको पनि गृहमन्त्री लामिछानेले बताउनुभएको छ ।

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, आफूलाई सक्ने रोजगारी दिन र श्रीमानले लिएको आर्थिक ऋण तिरिदिन गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।

देशमै केही गरौँ भन्ने मान्छे असक्षम प्रशासन र व्यापारिक घरानाका कारण मर्नुपरेको दुखेको पोख्दै नानुकाले अब यस्ता घटना दोहोरिन नदिन सचेत गराउनुभयो । गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । 

हिजो आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको आज बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।

यसैबीच, मृतक प्रेमप्रसादआचार्यले न्याय पाउनुपर्ने माग गर्दै काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

नागरिक समाजका अगुवा र युवाहरूले आचार्यको न्याय र उहाँ जस्तै लाखौँ नेपाली युवाहरूको न्यायकालागि सरकारसँग माग गरेका छन् । 

काठमाण्डौको माइतीघरमा जम्मा भएर नाराबाजीसहित बानेश्वर पुगेका उनीहरूले गरिखान सक्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया