चोरको बिगबिगी बढेपछि प्यूठानको गौमखी गाउँपालिकामा घुमन्ते व्यापारीलाई प्रवेश निषेध

 माघ ११, २०७९ बुधबार १८:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्यूठानमा केही दिनयता चोरको बिगबिगी बढेको छ । पछिल्लो दुई हप्तायता प्यूठान नगरपालिका, तथा गौमुखी र झिमरुक गाउँपालिमा चोरले लाखौँ रुपैयाँ नगद र धनमाल लुटेका छन् । 

शृङ्खलाबद्ध रुपमा चोरी हुँदा पनि प्रहरीले चोरी गर्ने गिरोह पत्ता लगाउन सकेको छैन । चोरले हैरान गरेपछि गौमुखी गाउँपालिकाले घुमन्ते व्यापारीलाई गाउँपालिका प्रवेशमा रोक लगाएको छ ।

आज बसेको कार्यपालिकाको बैठकले कपाल किन्ने, सिडक डस्ना बनाउने, भाँडाकुँडा किनबेच गर्ने, जडिबुटीको कारोबार गर्ने लगायतका व्यापारीलाई गाउँ प्रवेशमा रोक लगाएको अध्यक्ष विष्णु गिरीले उज्यालोलाई जानकारी दिनुभयो ।

व्यापारी भन्दै गाउँ पस्ने र लुट्ने क्रम बढेकाले घुमन्ते व्यापारीलाई प्रवेश निषेध गरिएको र अपरिचित व्यक्तिबाट सचेत रहन स्थानीयलाई आग्रह गरेको उहाँले बताउनुभयो । शंकास्पद गतिविधि देखेमा तुरुन्त गाउँपालिका र प्रहरीमा फोन लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ । यस्तै गाउँपालिकाले चोर समात्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने पनि घोषणा गरेको छ ।

एक विद्यालयको सीसीटीभी क्यामेराकोसमेत तार काटेर चोरीको प्रयास भएको अध्यक्ष गिरीले बताउनुभयो । पेन्सन बुझेका, बैंक तथा सहकारी संस्थाबाट पैसा झिकेका र आर्थिक कारोबारमा संलग्न भएका घरहरु छानेर चोरी भइरहेको गिरीको भनाइ छ ।

जिल्लाबाट चोर पत्ता लगाउन नसकेपछि केही दिनअघि झिमरुक गाउँपालिकाले गृह मन्त्रीलाई नै पत्र पठाएर चोरी नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेको थियो ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया