राहदानी विभागमा अझै उस्तै भिड, घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता हटेन

 माघ १२, २०७९ बिहिबार ८:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले लाइन लाग्नुपर्ने बाध्यता हटाउन निर्देशन दिएको महिना दिन पुग्नै लाग्दा पनि राहदानी विभागमा हुने भिड अझै हट्न सकेको छैन ।

सेवाग्राही घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता उस्तै रहेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले भिड व्यवस्थित गर्न निर्देशन दिनुभएको थियो । तर राहदानी विभागबाहिर पासपोर्ट बनाउनेहरुको भिड अहिले पनि उस्तै देखिन्छ ।

सरकारले पटक पटक निर्देशन दिएपछि राहदानी बनाउन केही सहज हुने भयो भन्ने सेवाग्राहीको आश रहे पनि अझैसम्म निर्देशन कार्यान्वयन नहुँदा निराशा छ । घण्टौँ उभिँदा पनि पालो पाउन नसक्ने अवस्था रहेको गुल्मीको धुर्कोट गाउँपालिकाकी शान्ता जिसिको गुनासो छ ।

राहदानी बनाउन पहिले जे समस्या थियो, अहिले पनि उस्तै समस्या रहेको उहाँको भनाइ छ । अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमट्रिक गर्ने समय पाउनै मुस्किल छ । त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या छ । निःशुल्क भर्न मिल्ने फारामका लागि पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको राहदानी विभागमा भेटिएका रामेछाप मन्थलीका सरोज राईले बताउनुभयो । राहदानी विभागकै वरिपरि रहेका साइबरहरुले भने मनग्य पैसा लिएर अनलाइन आवेदन भरिदिने गरेका छन् ।

जिल्लाबाटै राहदानी बनाउन मिल्ने भए पनि छिटो चाहिनेका लागि काठमाण्डौको राहदानी विभाग नै आउनुपर्छ । बेलाबेला पर्ने सरकारी बिदा, विभागभित्रको प्राविधिक समस्या र कर्मचारिको ढिलासुस्तीले पनि छिटो काम हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

राहदानी विभागकी प्रवक्ता तथा निर्देशक दुरुपदा सापकोटाले भने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्ने पहल भइरहेको दाबी गर्नु भएको छ । उहाँका अनुसार भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी छ। कार्ययोजना खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने विभागका प्रवक्ता सापकोटाले बताउनुभएको छ । अबको दुई/तीन महिनामा देखिने गरी सुधार हुने उहाँको दाबी छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • देवीलाल पौडेल

    Jan. 26, 2023, 10:56 a.m.

    संघियता को लाभ लिनबाट जनता बन्चित भएपछी प्रदेश खारेज गरे हुन्छ, होइन भने प्रदेश राजधानी बाट तुरुन्तै बिना कुनै उल्झन जनाताले राहदानी पाउनु पर्यो | देशमा राहदानी प्रिन्ट गर्ने मेशिन र सिस्टम हरेक प्रदेश राजधानीमा संचलान गर्नलाई के ले रोकेको छ ? यो सानो कुरा पनि सोच्न सकिदैन? यो सम्भव छ र सकिन्छ तर हाम्रो देशमा यस्तै भैरहन्छ र चली रहन्छ | हामिले परदेशीएका हरु नेपाल मा काम गर्ने अनुकुल वातावरण भैदिने हो भने परदेशीने बाध्यता हुने थिएन |

  •  0 Reply

तपाईको प्रतिक्रिया