सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण : अन्य ठाउँमा पनि दादुराको आशङ्का, निगरानी सुरु

 माघ १२, २०७९ बिहिबार ११:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो ।

छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र रुपमा फैलिरहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उहाँले सुझाव  दिनुभयो । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । यसअघि बाँकेको नेपालगञ्जमा र डोटी पुगेका कैलालीको गौरीगंगाका एक बालकमा दादुरको सङ्क्रमण देखिएको थियो । दादुरा निकै सङ्क्रामक रोग भएकाले यो छिट्टै महामारीका रुपमा फैलिने जोखिम हुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले दादुराको सङ्क्रमण अन्य ठाउँमा पनि भएको हुन सक्ने आशङ्कामा निगरानी गर्न सबै पालिकालाई निर्देशन दिएको जानकारी दिनुभयो । कोरोना महामारीका बेला कतिपय बालबालिका दादुरा विरुद्धको खोप लगाउन छुटेकाले पनि सङ्क्रमण देखिएको हुन सक्ने उहाँले बताउनु भएको छ । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले आफ्ना बालबालिकालाई खोपबाट नछुटाउन उहाँको आग्रह छ।

नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेता पनि बेलाबेलामा प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मूलन गर्ने लक्ष्य सारिएको थियो । तर यही समयमा फेरि दादुराका सङ्क्रमित भेटिन थालेका छन्।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया