आत्मदाह प्रकरण : सस्तो लोकप्रियताका स्टन्ट बन्द गर्न आन्दोलनकारीको चेतावनी

 माघ १२, २०७९ बिहीबार १६:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  मंगलवार सङ्घीय संसद भवन अगाडि आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आज पनि शान्तिपूर्ण विरोध भएको छ । 

माइतीघर मण्डलामा आज (बिहीवार) पनि मृतक आचार्यले उठाउनुभएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण विरोध गरेका हुन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको विरोध जनाएका छन् ।

प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरुले मृतक प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पुर्‍यायो भन्ने बारेमा सरकार गम्भीर नबनेको आरोप लगाए । आत्मदाह गर्नुभएका आचार्यका परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको आन्दोलनकारीको आरोप छ । उनीहरुले मृतक आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने दोषीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

आन्दालनकारीहरुले संघ र प्रदेशमा गरी ८ जना भन्दा धेरै मन्त्री एउटै पदमा रहँदासमेत जनताका समस्या समाधान गर्न नसके मन्त्री भएर बस्नुको कुनै औचित्य नरहेको र संघीयताको लाभ जनताले लिन नसकेको बताए । उनीहरुले जर्किन र बोतलमा पेट्रोल बेच्न नपाउने निर्णय गरेर सरकार गम्भीर बन्न नसकेको भन्दै गाउँमा ट्याक्टर चलाएर खाने किसानहरुलाई झनै समस्या पैदा गरेको बताए ।

उनीहरुले सरकारले हचुवाको भरमा निर्णय गरेर घटनालाई ख्यालख्यालमा लिइ घटना लुकाउने प्रयास गरिरहेको आरोप लगाए । सस्तो लोकप्रियताका स्टन्ट सरकारले अब बन्द गर्नुपर्ने चेतावनी दिँदै प्रदर्शनकारीहरुले सरकारले शान्तिपूर्ण आग्रह नसुने आगामी आन्दोलनका कार्यक्रमहरु फरक हुने बताए ।

उनीहरुले मृतक आचार्यले उठाउनुभएका मागहरु जायज रहेको र सरकारले औपचरिकता पूरा गर्ने नभइ मृतकले उठाएका मागहरुको उचित सम्बोधन हुनुपर्ने बताए ।

प्रदर्शनकारीहरुले उद्यमशील नेपाल, नारा मात्र हो सरकार ?, गरिखाने की मरिजाने ?, भिसा देउ सरकार, खाडी जान्छु, दलालहरु होशियार, देशमै गरिखाने वातावरण बनाइदेउ सरकारलगायतका नारा लगाएर सरकारको विरोध गरेका थिए । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया