शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

 माघ १६, २०७९ सोमबार ७:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज शहीद दिवस ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी मनाइन्छ ।

विसं २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । अहिले बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी हुँदैछ ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपाससम्मिलित टोलीले लैनचौर पुगेर ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ ।  यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि आज कार्यक्रम हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्ने तयारी छ ।

२०६३ सालअघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । तर, त्यो सञ्चालनमा आउन सकेको छैन । शहीदको स्पष्ट परिभाषा नगरि पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

शहीद दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शहीद दिवस देश र नागरिकका लागि प्राण आहुति दिने महान् शहीदको विशेष सम्झना गरिने दिन भएको उल्लेख गर्नुभएको छ । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । यस्तै, दिवसका अवसरमा पूर्व प्रधानमन्त्री, मुख्यमन्त्रीहरु र दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया