इजरायलमा नेपाली श्रमिकको आकर्षण : केयर गिभरसँगै नयाँ क्षेत्रमा पनि श्रमिक पठाउने तयारी

 माघ १६, २०७९ सोमबार १५:१०:३३ | बेदानन्द जाेशी
unn.prixa.net

इजरायलकाे हाइफा सहर, जहाँ धेरै नेपाली श्रमिक कार्यरत छन् ।

काठमाण्डौ – खोटाङका प्रताप राई इजरायलको हाइफा सिटीमा एक नर्सिङ केयर सेन्टर (स्याहार केन्द्र)मा केयर गिभरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले बिहान ८ घण्टा काममा खटिनुपर्छ । प्रतापले स्याहार केन्द्रमा रहेका वृद्धवृद्धाहरुको स्याहार गर्ने, उनीहरुलाई खाना खुवाइदिने, नुहाइदिने, घाम ताप्न लगिदिने लगायत काम गर्नुहुन्छ । यसरी काम गर्न थालेको चार महिना बितिसक्यो । प्रताप इजरायलको रोजगारी र आफूले गर्ने कामप्रति सन्तुष्ट हुनुहुन्छ । पहिले विद्यालयमा बित्ने प्रतापको समय अहिले नर्सिङ केयर सेन्टरमा बित्छ । यी सेन्टर वृद्धाश्रम जस्तै हुन् । जसलाई निजी क्षेत्र र कतै सरकारले पनि सञ्चालन गरिरहेका छन् ।

बिएससीसम्मको पढाइ गर्नुभएका प्रताप इजरायल उड्नुअघि गाउँकै एक विद्यालयमा पढाउनुहुन्थ्यो । शिक्षकको कमाइले घरपरिवारको जिम्मेवारी धान्नै गाह्रो भएपछि पढाउने कामको विकल्प सोचिरहेकै बेला वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायलको आवेदन मागेको थाहा पाउनुभयो । दुई देशबीचको सरकारी प्रक्रिया अर्थात् जीटूजी प्रणाली मार्फत इजरायल जान पाइने भएपछि उहाँ शिक्षण पेसा छाडेर काठमाण्डौ आउनुभयो । तीन महिनाको केयर गिभरको तालिम लिनुभयो । अंग्रेजी भाषा राम्रै थियो । ढुक्क भएर इजरायल रोजगारीका लागि आवेदन दिनुभयो । परीक्षामा उत्तिर्ण पनि हुनुभयो । भाषा परीक्षामा नाम निकाले पनि इजरायल उड्न केही समय कुर्न पर्‍यो । अहिले इजरायल पुगेको ४ महिना भयो । यहाँ काम अनुसारको कमाइ पनि छ । उहाँले महिनाको झण्डै दुई लाख जति कमाउनुहुन्छ । 

उहाँजस्तै पश्चिम रुकुमकी राधा खड्का पनि जीटूजी प्रणालीमार्फत नै इजरायल जानुभएको छ । उहाँ पनि इजरायल पुग्नुभएको चार महिना भयो । नर्सिङ पढेकी राधाले नेपालमै नर्सिङको काम गरिरहनुभएको थियो । श्रीमानसँग सम्बन्धविच्छेद गरेपछि आफ्नै खुट्टामा उभिनुपर्छ भनेर नर्सिङ पढ्नुभएको थियो । तर करारको जागिरले उहाँको परिवारको खर्च धान्न सकेन । त्यसमाथि दुई सन्तानलाई हुर्काउने र पढाउने जिम्मेवारी पनि उहाँकै काँधमा थियो । बुवाको उपचार गर्न काठमाण्डौ आएको बेला इजरायलमा रोजगारी खुलेको थाहा पाएपछि राधाले इजरायल जाने निधो गर्नुभयो । अहिले राधा पनि प्रतापले झैं नर्सिङ केयर सेन्टरमा काम गरिरहनुभएको छ । 

काम गर्ने वातावरण राम्रो 

रोजगारीको लागि इजरायल गएकाहरु त्यहाँ काम गर्ने वातावरण राम्रो भएको बताउँछन् । कमाइ पनि चित्तबुझ्दो छ । सहायक कामदारको रुपमा इजरायल गएकाहरुको न्युनतम तलब एनआईएस (इजरेली न्यु सिकेल) ५३ सय हुन्छ भनेर सम्झौता भएको छ । त्यसको हिसाब गर्ने हो भने प्रति सिकेल ३७ रुपैयाँ ९३ पैसा विनिमयदर छ । त्यसको नेपाली दुई लाख जति हुन आउँछ । कमाइका साथै काम गर्ने वातावण पनि सन्तोषदायक नै छ । वैदेशिक रोजगारीमा पहिलोपटक इजरायल जानुभएका प्रताप आफूले सोचेभन्दा धेरै नै फरक पाएको बताउनुहुन्छ । 

वल्डएज केयर सेन्टरमा ज्येष्ठ नागरिकहरुसँग प्रताप

‘अरु देशमा गएर दुःख पाएका समाचार पढिन्छ, अप्ठेरो काम गरेको, समयमै तलब नपाएको सुन्नमा आउँछ । त्यो विषयमा यहाँ निराश हुनुपर्ने केही छैन’, प्रताप भन्नुहुन्छ, ‘सरकारी तबरबाटै आउन पाउनु, त्यसैमाथि सम्मानजनक ढंगले काम गर्न पाउनु, सेवा सुविधा पनि राम्रो हुनु, हामीले चाहेको भनेको यही त हो नि ।’

स्याहार केन्द्रमा तीनवटा सिफ्टमा ८/८ घण्टाको काम हुन्छ । कहिलेकाहीँ ८ घण्टाभन्दा बढी काम गर्नुपरे ओभरटाइममा गनिन्छ । प्रताप अहिले मर्निङ सिफ्टमा काम गर्नुहुन्छ । स्याहार केन्द्रमा पुगेपछि जे काम आइपर्छ त्यही काम गर्ने हो । तर पनि कामको सूची भने हुन्छ । आफू ड्युटीमा जानेबित्तिकै कसले के काम गर्ने भनेर लेखेर राखिएको हुन्छ । त्यसैको आधारमा काम गर्नुपर्ने हुन्छ । त्यहाँ सूचीकृत नर्स जसलाई आरएन पनि भनिन्छ, उनीहरुको निर्देशनमा काम गर्नुपर्ने हुन्छ ।

तर कहिलेकाहीँ काम गर्दा श्रमिकहरुलाई जोखिम पनि हुन्छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरु बिरामी पनि हुन्छन् । कहिलेकाहीँ चप्लिएर लड्ने हुनसक्छ । कहिलेकाहीँ ह्वीलचियर हेण्डल गर्न नजान्दा पनि समस्या हुन्छ । श्रमिकको सानो लापरबाहीले दुर्घटना निम्तिन सक्छ । यसमा भने सचेत हुनुपर्छ ।

‘नजानेको काम जान्छु भनेर अघि सर्नुहुँदैन, केही बिग्रेमा, बिरामीलाई केही भएमा त्यसको जोखिम आफैलाई हुन्छ’, राधिका खड्का भन्नुहुन्छ, ‘नजानेको काम जान्दैन भनेमा बरु सिकाइदिन्छन् । ध्यान दिनुपर्छ, होसियार भएर काम गर्नुपर्ने हुन्छ । पहिले सानो काम बिगार्दा पनि धेरै जना कामबाट निकालिए भन्ने सुनिन्थ्यो ।’

तर अहिले पहिलेको जस्तो अवस्था भने छैन । पिबा (इजरायलको आधिकारिक निकाय)ले यस विषयमा अहिले नियम कडा गरेको छ । अब रोजगारदाताहरु पहिलेको जस्तो श्रमिकले सामान्य काम बिगार्दा पनि निकाल्न पाउँदैनन् ।

प्रताप भन्नुहुन्छ, ‘अहिले पिबाले श्रमिकको यो समस्यालाई मध्यनजर गर्दै श्रमिकलाई कमजोरी सुधार्ने अवसर दिन्छ, ठूलो लापरबाहीबाहेक साना गल्तीमा निकालेको हामीले सुनेका छैनौँ ।’

यस्तै इजरायलमा सुरुसुरुमा भाषा नजान्दा र कामको बारेमा राम्रोसँग नबुझ्दा पनि समस्या हुने गरेको श्रमिकहरु बताउँछन् । केयर गिभरमा जाने भनेपछि धेरैले सामान्यरुपमा हेरचाह मात्र गर्ने होला भन्ने ठान्छन् । तर त्यहाँ त्यस्तो हुँदैन । दिसापिसाब सोहर्नेदेखि आइपरेको सबै काम गर्नुपर्ने हुन्छ । यस्तै इजरायलमा अंग्रेजी सँगसँगै हिब्रु र रसियन भाषा पनि बोलिन्छ । नेपालबाट इजरायल जाँदा अँग्रेजी वा हिब्रमध्ये एक भाषा जानेको हुनुपर्छ । नेपालबाट जानेहरु प्राय सबै अँग्रेजी भाषामा पास भएर जान्छन् । तर स्याहार केन्द्रमा धेरैजसो नागरिक इजरायलसँगै रसिया, टर्की, युक्रेन लगायत देशका पनि भएकाले अंग्रेजी मात्रै जानेर पनि नहुने अनुभव छ प्रतापको ।

‘स्याहार केन्द्रमा एउटै देशका हुँदैनन्, रसियन, टर्कीस, युक्रेनीहरु पनि हुन्छन्, यी सबैलाई हिब्रु भाषाले कभर गर्छ, त्यसैले हिब्रु भाषा राम्रोसँग जानेमा धेरै सजिलो हुन्छ’, यस्तै कामको प्रकृतिबारे उहाँ सम्झाउनुहुन्छ, ‘केयर गिभरमा जाने भनेपछि गमुत सबै सोहर्नुपर्छ भन्ने मानसिकता बनाएर आउनुपर्छ, सफा काम हो भन्ने सोचेर आएमा सुरुसुरुमा गाह्रो पर्नसक्छ ।’

एक हजारभन्दा धेरै श्रमिक गइसके

इजरायल सरकार र नेपाल सरकारबीच श्रम सम्झौता हुनुअघिसम्म म्यानपावर कम्पनीले इजरायलमा श्रमिक पठाइरहेका थिए । तर यसरी गएका श्रमिक ठगीमा परेपछि वि.स. २०६५ सालदेखि म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउन रोक लागेको थियो । त्यसपछि सरकारी तबरबाटै केयर गिभरको काममा श्रमिक पठाउने गरी २०७२ मै दुई देशबीच श्रम समझदारी भयो । तर यो समझदारी तत्कालै कार्यान्वयन हुन सकेन । समझदारी पुरानो हुँदै गएपछि त्यसको पाँच वर्षपछि २०७७ को असोज १४ गते दुई देशबीच जीटूजी (गभर्नमेन्ट टू गभर्नमेन्ट) मार्फत श्रमिक पठाउने सम्झौता भयो ।

सम्झौतापछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । यो निर्देशिकाले इजरायलमा श्रमिक पठाउने प्रक्रिया र मापदण्डहरु तय गरेको छ । २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा तथा सीएमए उत्तीर्ण तथा केयर गिभरको तालिम प्राप्त व्यक्ति रोजगारीका लागि इजरायल जान पाउँछन् । सम्झौतापछि पहिलो चरण अन्तर्गत भाषा परीक्षामा छनौट भएका १ हजार ६ सय ८० जनाको नाम विभागले इजरायल सरकारलाई पठाएको थियो । उनीहरुमध्येबाट इजराजलले १ हजार १ सय ७५ जना छनौट गरेको थियो । वैदेशिक रोजगार विभागका अनुसार छनौट भएकामध्ये पनि अहिलेसम्म विभिन्न १६ वटा उडानबाट एक हजार २५ जना रोजगारीका लागि इजरायल पुगिसकेका छन् ।

त्यसमध्ये करिब ७० को हाराहारीमा श्रमिकले स्वं घोषणा गरेर छनौटबाट बाहिरिएका छन् । उहाँहरुले आफ्नै व्यक्तिगत कारण देखाएर गएनन् । बाँकी रहेका ८२ जनामध्ये ३२ जनाको करार प्राप्त भइसकेको छ । बाँकी पचास जना जतिलाई कन्ट्र्याक्ट प्राप्त हुन बाँकी छ ।

विभाग अन्तर्गत इजरायल रोजगारी शाखाका प्रमुख डम्बरबहादुर सुनुवार भन्नुहुन्छ, ‘समय लामो लागे पनि सानो सानो संख्यामा निरन्तर कन्ट्र्याक्ट प्राप्त भइरहेको हुनाले बाँकी श्रमिक पनि छिट्टै जान सक्नुहुन्छ । तर दिन मिति तोकेरै भन्न सक्ने अवस्था छैन ।’

कृषि र निर्माणको क्षेत्रमा पनि जान पाउने

केयर गिभर अर्थात सहायक कामदारसँगै इजरायलले कृषि र निमार्णको क्षेत्रमासमेत नेपाली श्रमिक लैजाने प्रस्ताव राखेको छ । 

केयर गिभरमा गएका श्रमिकको काम र कमाइ राम्रो भएपछि नेपालबाट अरु श्रमिक पनि इजरायल जान लालायित छन् । यस्तै त्यहाँ गइसकेका श्रमिकको लगनशीलता, इमानदारिताका कारण इजरायल सरकार पनि नेपालबाट थप श्रमिक लैजान सकारात्मक छ । गएकाे साउनमा तत्कालीन श्रम मन्त्री शेरबहादुर कुँवर र  नेपालका लागि इजरायली राजदूत हनान गोदेरबीच मन्त्रालयमा भएकाे भेटवार्तामा गाेदेरले कृषि क्षेत्रमा एक हजार नेपाली श्रमिक लिने बताउनुभएकाे थियाे । त्यसपछि पनि इजरायल र नेपाली पक्षबीच भेटघाट र वार्ता भइरहेका छन् ।

नेपालको लागि इजरायली राजदूतसँग भएको छलफल संवाद र इजरायली काउन्टर पार्टसँग भएको छलफलबाट निकट भविष्यमा फेरि केयर गिभरसँगै कृषि र निर्माणको क्षेत्रमा पनि श्रमिक माग गर्ने इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवार बताउनुहुन्छ । 

‘केयर गिभरको छनौट प्रक्रियाबाट उत्साहित हुनुभएको कारणले र पुगिसक्नुभएका नेपाली श्रमिकको कामप्रतिको निष्ठा र व्यवहार अत्यन्तै रुचाइएको कारणले कृषि र निर्माणको क्षेत्रमा नेपालबाटै श्रमिक लिने कुरा लगभग टुंगो लागेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘कस्तो सीप भएका, कति संख्यामा र उहाँहरुको सेवासुविधा कति रहने भनेर स्पष्ट मोडालिटी पेस गर्नुस् भनेर हामीले इजरायलसँग अनुरोध गरेका छौँ । त्यो प्राप्त हुनासाथ त्यसलाई एकदमै तीव्रताका साथ अगाडि बढाउने योजनामा छौँ ।’

 


अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया