खुसी देला भन्ने आस गरेको परदेशले श्रीमानको प्राण लियो

 माघ १८, २०७९ बुधबार १४:३७:१ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मेरो नाम रिता पाण्डे हो । अहिले उमेरले ५५ वर्ष लागेँ । जीवनमा थुप्रै हन्डर र ठक्कर खाएँ । निकै दुःख पाएँ । तर दुःखसुख त जीवनको चक्र नै रहेछ ।

श्रीमान् कमाउन परदेश गएपछि अब त सुखका दिन आउलान् नि भन्ने थियो । कति सपनाहरू थिए । सोचेजस्तै नहुने रहेछ । 

खुसी देला भन्ठानेको परदेशले मेरो श्रीमानको प्राण नै लियो ।

२०७५ सालमा मेरो श्रीमान् रामेश्वर रोजगारीका लागि मलेसिया जानुभएको थियो । मलेसियामा काम सुपरभाइजरको गर्छु भन्नुहुन्थ्यो । गाउँकै एजेण्टले पठाएको भए पनि काम र कमाइ राम्रो थियो । तर त्यहाँ पुगेको एक वर्ष २०७६ सालमा मेरो श्रीमानको त्यही मृत्यु भयो । के कारण थियो, कसरी मृत्यु भयो भन्ने मलाई जानकारी छैन । 

श्रीमानको मृत्युपछि उहाँको शव ल्याउनलाई आप्रवासी स्रोत केन्द्रले सहयोग ग¥यो । शव घर आयो । संस्कारको काम पनि सकियो । त्यसपछि भने मलाई एक्लो अनुभव हुन थाल्यो । श्रीमानलाई सम्झँदा मलाई पनि आत्महत्या गरौँ गरौँ लाग्न थाल्यो । रुन मात्र मन लाग्ने, संसारमा एक्लो छु भन्नेजस्तो मात्र अनुभव हुन थाल्यो । रातभरि निद्रा लाग्छ छाड्यो । कुनै पनि काम हातमा आउनै छाड्यो । न खाना खान्थेँ । न त कपाल कोर्थेँ । भनौँ आफूलाई आफ्नो माया नै लाग्न छाडेको थियो ।

त्यही बेला मेरो भेट सुरक्षित आप्रवास सामी कार्यक्रम अन्तर्गत मलंगवा नगरपालिकामा मनोपरामर्शकर्ताको रूपमा कार्यरत रामसोमारी साहसँग भयो । उहाँसँग आफ्नो कुराहरू भन्ने र उहाँले मेरो पीडा कम गर्न सिकाउनुभएको विभिन्न उपायहरू गर्दै गएँ । 

उहाँसँगको नियमित भेटघाट र कुराकानी पछि त मलाई बालबच्चाको माया लाग्न थाल्यो । श्रीमान् पनि बितेर गए म पनि रहिन भने मेरो बालबच्चाको हालत के होला भन्ने सोचहरू आउन थाल्यो मनमा । 

जब बालबच्चाको बारेमा सोच्न थालेँ त्यसपछि तनावहरू कम हुँदै गएको अनुभव हुन थाल्यो । बिस्तारै मर्ने सोच हट्दै गयो । अनि आफ्नो लागि र बालबच्चाका लागि मैले केही गर्नुपर्छ भन्ने सोचहरू आउन थाल्यो । 

मानिस जन्मेपछि एक दिन त मर्नै पर्छ । ढिलो चाँडो हो पालो सबैको आउँछ जस्तो लाग्न थाल्यो । तर बाँच्नका लागि केही त गर्नै प¥यो । त्यसपछि मैले किराना पसल खोल्छु भन्ने योजना बनाएँ । मलाई नगरपालिकाले पनि २० हजार रुपैयाँ दियो । त्यही पैसाले सामानहरू राखेर पसल खोलेँ । 

आजकाल त म निकै खुसी भएको छु । आफ्नो मनको पीडा अरूसँग राख्न डर लाग्दैन । हिम्मत बढेको छ । केही गर्न सक्छु भन्ने आत्म विश्वास पनि छ । 

पसलबाट सरदर दिनमा पाँच सय रुपैयाँ कमाइ हुन्छ । यो कमाइले नै घर खर्च पुर्‍याइरहेको छु । आजकाल त रातभरि निदाउँछु । पीडामा डुबेर रोएर पनि बस्दिन । किनकि मनोपरामर्शपछि रुनु समस्याको समाधान होइन रहेछ भन्ने बुझेको छु । 

नाेट ः  व्यक्तिगत परिचय गोप्य राखिएको छ ।

(प्रस्तुति : रामसोमारी साह । साह सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत मलंगवा नगरपालिकामा मनोपरामर्शकर्ता हुनुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय कार्यक्रम हो ।)

अन्तिम अपडेट: फागुन १६, २०८०

तपाईको प्रतिक्रिया