न्यु डायमन्डले जित्याे राष्ट्रिय महिला भलिबलकाे उपाधि

 माघ २४, २०७९ मंगलबार १८:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड स्पोर्टस् क्लबले जितेको छ । न्यु डायमन्ड पहिलाे पटक विजेता बनेकाे हाे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा आज मङ्गलवार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै न्यु डायमन्ड विजेता बनेको हो । न्यु डायमन्डले एपीएफलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो ।

पहिलो सेट न्यु डायमन्डले २८–२६ ले जितेको थियो । दोस्रो सेट एपीएफले २५–१९ ले जित्दा तेस्रो सेट न्यु डायमन्डले २५–२२ ले जित्यो । चौथो सेट एपीएफले २६–२४ ले जित्दा खेल पाँचौँ सेटमा पुगेको थियो । पाँचाैँ सेट १५–९ ले जित्दै न्यु डायमन्ड विजेता बनेको हो ।

विजेता न्यु डायमन्डले तीन लाख रुपैयाँ र उपविजेता एपीएफले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । तेस्रो भएको पुलिस क्लबले ७५ हजार रुपैयाँ पाएको छ । माघ २१ गतेदेखि सुरु भएको प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी क्लब, पुलिस र न्यु डायमन्डले खेलेका थिए ।

अन्तिम अपडेट: माघ २७, २०७९

तपाईको प्रतिक्रिया