टर्कीमा भूकम्प प्रभावित क्षेत्रबाट २० जना नेपाली सम्पर्कमा, कोही आफन्त सम्पर्कमा नभए एनआरएनएलाई खबर गर्न सकिने

 माघ २५, २०७९ बुधबार १३:८:४६ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २० जना नेपाली सम्पर्कमा आएका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका महासचिव विनोद पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार उनीहरूमध्ये १४ जना विद्यार्थी र बाँकी ६ जना त्यहाँ कार्यरत श्रमिक रहेका छन् । सम्पर्कमा आएका २० जना सेल्टर हाउस र होटलमा रहेका छन् ।

सम्पर्कमा आएकाहरू सबैजना सुरक्षित स्थानमा रहेको र उनीहरुलाई खानाको व्यवस्था पनि त्यहींको नगरपालिका र रेडक्रस लगायतका संघसंस्थाहरुले गरिरहेका उहाँले बताउनुभयो । 

‘नगरपालिकाले पनि खाना, कपडा लगायत अत्यावश्यक कुराहरूको व्यवस्था गरिरहेको छ, बाटो बन्द भएको ठाउँबाट सेनाको हेलिकप्टरले पनि अत्यावश्यक बस्तुहरू लगिरहेको छ’ महासचिव पौडेलले भन्नुभयो ।

उहाँका अनुसार अहिलेसम्म भूकम्पमा कोही पनि नेपाली परकोबारेमा औपचारिक जानकारी आएको छैन । भूकम्पमा परी ज्यान गुमाएका र घाइते भएकाहरु कुन देशका नागरिक हुन् भनेर अहिलेसम्म टर्की सरकारले भनेको छैन।

भूकम्प प्रभावित क्षेत्र टर्कीको इस्तानबुलबाट झण्डै १२ सय किलेमिटर टाढा पर्छ । यो समयमा त्यस क्षेत्रमा निकै चिसो हुने भएकाले होटल लगायतमा क्षेत्रमा नेपालीहरू कार्यरत भए पनि अहिले त्यहाँ बस्ने नगरेको एनआरएनए महासचिव पौडेल बताउनुहुन्छ ।

प्रभावित क्षेत्रमा नेपालीहरूको सङ्ख्या ५० देखि ६० जनाको हाराहारीमा हुनसक्ने  अनुमान गरिएको महासचिव पौडेलले  बताउनुभयो । तर विभिन्न माध्यम हुँदै गैरकानुनी तवरले पनि नेपालीहरू कार्यरत रहनसक्ने सम्भावना रहेकाले कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क नभएको उहाँ बताउनुहुन्छ । 

भूकम्प गएकै दिन गएको सोमबारदेखि एनआरएनए टर्कीले समन्वय गरी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको खोजी गरिरहेको छ । प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन एनआरएनएले अनुरोध गरिरहेको छ । तर कतिपय इन्टरनेट र बिजुली बत्ती नहुँदा मोबाइल चार्ज नभएर पनि सम्पर्कमा नआएको हुन सक्ने उहाँको भनाई छ ।

सम्पर्कमा आएका कतिपय विद्यार्थीले आफूहरूको उद्धारका लागि अनुरोध गरिरहेका छन् । तर तत्कालका लागि बाटोहरू पनि भत्किएको र जहाजहरू पनि १० देखि १२ दिनसम्मका लागि ओभर बुक भइसकेकाले तत्काल त्यहाँबाट उद्धार गरी ल्याउन भने सम्भव छैन । 

‘कतिपय विद्यार्थीहरूले सुरक्षित स्थानमा लैजान अनुरोध गर्नुभएको छ तर कतिपय युनिभर्सिटीका विद्यार्थी हुनुहुन्छ त कतिपय हाई स्कुलका हुनुहुन्छ, उहाँहरूलाई त्यहाँबाट इस्तानबुल ल्याउनका लागि कतिपयको सम्बन्धित निकायसँग अनुमति लिन पर्ने पनि हुन सक्छ, हामी त्यसका लागि पनि काम गरिरहेका छौ’ महासचिव पौडेलले भन्नुभयो । 

तत्काललाई सम्पर्कमा आएकाहरूसँग नियमित सम्पर्कमा रहने र उनीहरूलाई परामर्श प्रदान गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

एनआरएनए टर्कीले त्यहाँको सरकारलाई हस्तान्तरण गर्ने गरी नेपाली समुदायहरुबीचमा आर्थिक संङकलनसमेत गरिरहेको छ भने त्यहाँ रहेका नेपालीहरुले रक्तदान पनि गरिरहेका छन् । 

 टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका आफ्ना मानिस कोही भएको र फोन वा अनलाइन सम्पर्क नभएको भएमा एनआरएनए टर्कीलाई खबर गर्न पनि महासचिव पौडेलले अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो ‘भूकम्प गएदेखि आफ्ना मानिसको फोन लागेको छैन, अनलाइन आएको छैन भने नआत्तिनुहोस्, इन्टरनेट नभएर, मोबाइल चार्ज गर्न नपाएर पनि हुन सक्छ, यदि यस्तो छ भने हामीलाई खबर गर्नुहोस्, हामी टर्की सरकारको सम्बन्धित निकायसँग सम्पर्क गरी तपाईँहरूलाई प्राप्त सूचना दिने छौँ ।’

नेपालमा रहेका परिवार वा टर्कीमै भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीले एनआरएनए टर्कीका महासचिव विनोद पौडेललाई ०५३७२७७१९६ नम्बरमा सम्पर्क गर्न सक्छन् । 

टर्की र सिरियाको सिमानामा सोमवार बिहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि कैयौँ परकम्पहरु पनि गइरहेका छन् । यो समाचार तयार पार्दासम्म भूकम्पमा ज्यान घुमाउनेको सङ्ख्या ८ हजार ७ सय पुगेकाे बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया