विदेशबाट ल्याएको २२ किलोको रङ्गिन टिभी देख्दा छोरो नाचेको त्यो दिनको सम्झना

 माघ २५, २०७९ बुधबार १६:०:६ | नारायण कोइराला
unn.prixa.net

देशमा रोजगारी नपाएपछि हातमुख जोर्नकै लागि खाडी मुलुक जानु अहिलेको बाध्यता जस्तै भएको छ । विमानस्थलमा बिदेसिनेको भीड दोब्बर भएको छ । विमानस्थलबाट उड्दा हामी परदेशी घरको पीडा बोकेर उड्छौँ अनि खुसी बोकेर फर्कन्छौँ ।

विदेशबाट घर जाने भनेर दिन जति नजिकिन्छ उत्ति नै मनमा खुसी बढ्छ । एक महिनाअघिबाट मन खुसीले फुरफुर हुन थाल्छ । 

अहिले त पहिला जस्तो फोनमा कुराकानी गर्न पनि महिनौँसम्म कुर्नुपर्ने अवस्था पनि छैन । इन्टरनेटको सुविधाले श्रमिकलाई मात्र होइन सबैलाई सजिलो बनाएको छ । 

तर कतिपय ठाउँका कतिपय मानिसलाई भने अहिले पनि प्रविधिले नछोएको वास्तविकता पनि छ । जेजस्तो भए पनि पहिलाभन्दा सहज छ । जुन परदेशीका लागि खुसीको कुरो हो । 

अहिले घर आउँदा आफ्ना आफन्त, परिवार र छोराछोरीसँग सल्लाह गर्न सकिन्छ । के ल्याइदिऊ के चाहिएको छ भनेर सोध्न र सुन्न पाइन्छ । तर खाडीमा पसिना बगाएर कमाएको धनले सबैको मन राख्न गाह्रो हुन्छ । सबैलाई उपहार ल्याउन सक्ने अवस्था हुँदैन । 

साहुको ऋण र जिम्मेवारीले धेरै कुरामा मन खुम्चाएर बस्नु पर्छ । त्यो बेलामा पुराना दिनहरू याद आउँछ । पहिले पहिले परदेशी घर आउँदै छन् भन्न कुरा घरकालाई पत्तै हुँदैन थियो । घरमै आएपछि बल्ल सबैसँग कुरा हुन्थ्यो । त्यो बेला एउटा चकलेटको महत्त्व अहिलेको मोबाइल बराबरको हुन्थ्यो ।

फलानाको छोरो आयो भनेर गाउँभर हल्ला हुन्थ्यो । केटाकेटी आँगनभरि जम्मा हुन्थेँ । सबैलाई विदेशबाट आएका मिठाई खाने रहर हुन्थ्यो । अनि रमाइलो पनि । त्यो समय अब रहेन । विदेशी मिठाई अब नेपालमा जति पनि पाइन्छ । बालबच्चा र समाजमा पनि थुप्रै परिवर्तन कुरा परिवर्तन भइसकेको छ । कुनै परदेशी आउँदा गाउँमा कुन मोडेलको मोबाइल र ल्यापटप ल्यायो भनेर सोधिन्छ । 

साना बच्चादेखि वृद्ध वृद्धासमेत मोबाइलबारे जानकार छन् । वृद्ध वृद्धाले छुने मोबाइल भन्छन् त केटाकेटी टच स्क्रिन । कुरा त एउटै हो । ल्याउने परदेशी आफ्नाहरूको खुसीमा हाँसिरहेका हुन्छन् । 

अहिलेका दिनहरू सम्झँदा केही पछाडि फर्कने हो भने, परदेशी घर आउँदा ल्याउने सामानमा सीमित थियो । गाउँ घरमा टेलिभिजन हुँदैन थियो । त्यो समयमा पानासोनिक रेडियो हुनेहरू पनि गाउँका ठुलै मान्छे हुन्थे । तर आजकाल त गाउँ गाउँमा परदेशीले ठुला ठुला टेलिभिजन सेटहरू ल्याएका छन् । 

त्यो बेलामा चकलेट नल्याए घर आएको जस्तो नै हुँदैन थियो । किनकि परदेशीको चकलेटको महत्त्व नै अर्कै हुन्थ्यो ।

परदेश लागिसकेपछि घरपरिवारको खुसीभन्दा ठुलो परदेशीलाई अरू हुँदैन । मलाई पनि एक पटक यूएईबाट घर आउँदा टेलिभिजन सेट ल्याउने रहर लाग्यो । छोराले पनि बाबाले घर आउँदा टिभी चाहिँ ल्याइदिए हुन्थ्यो भन्ने चाहेको थियो । संयोग नै भन्नुपर्छ त्यो बेला टिभी ल्याउन सहज भयो ।

किनकि जहाजमा निश्चित किलोभन्दा बढी सामान ल्याउन पाइँदैन थियो । पहिले पहिलेका त टिभीको तौल नै बढी हुन्थ्यो । तर त्यस बेला टिभीको पनि तौल घटेको रहेछ । घरमा टिभी लैजाने मेरो सपना पूरा हुने भयो । २४ इन्चको २२ किलोको रङ्गिन टिभी किनेर कम्बलमा बेरेँ । 

यूएईदेखि घरसम्म ल्याउँदा फुट्ला भन्ने डर ठुलो थियो । तर त्यस्तो केही भएन । सुरक्षित रूपमा टिभी घर आइपुग्यो ।

जब माटोको घरमा रङ्गिन टेलिभिजन काठको टेबलमा राखियो । गाउँ भरिका बालबच्चा जम्मा भएर खुसीयाली मनाएको दृश्य हेर्न लायक थियो । त्यो क्षण अहिले सम्झँदा पनि मन खुसी हुन्छ । त्यो खुसी पाउन अहिले त केही गरेर पनि सकिन्न जस्तो लाग्छ । 

कहिले काहीँ त्यो तस्बिर हेर्छु, जुन तस्बिरमा छोरो टिभीको छेउमा खुसीले नाच्दै छ । खुसी सानो ठुलो जस्तो सुकै होस् । कुनै कुनै खुसी सानो भए पनि अविस्मरणीय हुँदो रहेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया