'ए' डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

 माघ २६, २०७९ बिहीबार १४:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – शहीद स्मारक 'ए' डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका धेरैजसो खेलाडी विदेश पलायन भएसँगै 'ए' डिभिजन लिगका क्लबहरूले खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो ।

'ए' डिभिजनका धेरैजसो क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने मागलगायत शहीद स्मारक 'ए' डिभिजन लिग सञ्चालन सम्बन्धमा हिजो बुधवार बसेको बैठकले खेलाडीको कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिनुभयाे । उहाँले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले पाँच जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताउनुभयो । उहाँले टिममा एक जना एसियाली र एक जना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको पनि बताउनुभयो । उहाँले एक खेलमा चार जना विदेशी खेलाडी खेल्न पाउने प्रावधान ल्याएको बताउनुभयो । 

राष्ट्रिय टिमका धेरैजसो खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लबहरूले सामूहिकरूपमा विदेशी खेलाडीको कोटा बढाउन 'ए' डिभिजनका ११ वटा क्लबले आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका धेरैजसो खेलाडी अस्ट्रेलिया पुगेका छन् । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्यासमेत बढ्ने क्लबको चिन्ता छ । त्यही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए ।

शहीद स्मारक 'ए' डिभिजन लिगमा यसअघि हरेक क्लबले चार जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुवाती–११ मा चार जना विदेशी खेलाडी राख्न पाइनेछ । एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिग डबल राउन्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौँ चरणसम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया