गाैतमबुद्ध र पाेखरा विमानस्थलबाट अहिले नै फाइदा खाेजेर हुँदैन : महानिर्देशक अधिकारी

 माघ २९, २०७९ आइतबार १६:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कुटनीतिक पहलविना भैरहवाकाे गाैतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताउनुभएको छ । 

आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारत र चीनसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताउनुभयो । समितिको बैठमा सांसदहरूले रुटको कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिँदै उहाँले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुटमात्रै बाधक नरहेको बताउनुभयो । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको उहाँको भनाइ छ । 

महानिर्देशक अधिकारीले विमानस्थलको बारेमा छिमेकी देशहरूमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तीव्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बताउनुभयो । उहाँले भैरहवा विमानस्थल चलायमान बनाउन विमानस्थल केन्द्रित गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘भैरहवा र पोखरा विमानस्थलबाट तत्काल हामीले फाइदा खोजेर हुँदैन । त्रिभुवन विमानस्थलमा जति लगानी गरेका छौँ, त्यहाँ त्यति लगानी कहाँ भएको छ र ? त्रिभुवन विमानस्थल सञ्चालनमा आएको ७५ वर्ष भइसक्यो आज पनि पूर्ण क्षमतामा छैन । त्यसैले यसलाई केही समय अझै धैर्य गर्नुपर्छ । सबै मिलेर यसको प्रचारप्रसार गर्नुपर्छ । रुटको कारणले मात्रै विमानस्थल नचलेको भन्ने होइन । भारत र चीन दुवै देशको चाहना छ भने न हामीले विमानस्थलमा उडान पाउने हो । यसलाई त कुटनीतिक पहल गर्नुपर्छ ।’

महानिर्देशक अधिकारीले पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्यान्डिङ प्रक्रिया सुरु भएको भन्ने गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न एक हजार फिटमाथि नै सबै व्यवस्थापन गरेरमात्रै ल्यान्डिङ गर्नुपर्ने नियम ल्याएको बताउनुभयो । उहाँले नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरू जडान भइसकेको उल्लेख गर्दै जोमसोममा भएको दुर्घटनापछि प्राधिकरण राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुटका सबै ठाउँमा अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेको बताउनुभयो । अब चाँडै नै लुक्ला र सिमिकोटमा जडान गर्ने तयारीमा रहेको बताउँदै लाइभ वेदर क्यामेरा जडानपछि पाइलटले उडान गर्नुअघि नै रुटको सम्पूर्ण जानकारी लिनसक्ने बताउनुभयो । 

महानिर्देशक अधिकारीले उडानअघि बाध्यकारीरूपले उडान सुरक्षा जोखिम मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया