बहिनीलाई कुवेती साहुको बन्धनबाट मुक्त गराउन दाजुको दश वर्षे दौडधुपको कथा

 माघ २९, २०७९ आइतबार १७:८:२९ | सन्जिता देवकोटा
unn.prixa.net

हेलम्बु – ‘विदेशमा फसेकी बहिनीलाई फर्काउन सकुँला जस्तो लागेको त थिएन, तर मैले हार मानेको भए अहिले पनि बहिनी साहुकै कब्जामा हुन्थ्यो’ सुनबहादुर तामाङ बहिनी गोरीको अनुहारतिर हेर्दै मुस्कुराउनुहुन्छ ।

बहिनीलाई जसरी पनि उद्धार गर्छु भनेर सुनबहादुर नलागेको भए, एक दिन बहिनीको फोन आउला भन्ने आसमा मात्रै बसेको भए, दौडधुप नगरी हात बाँधेर बसेको भए गोरीको भविष्य अन्धकार भैसकेको थियो । उहाँको पाइला जन्म घरमा पर्ने सम्भावना सकिँदै थियो ।

यही अत्यासले सुनबहादुरलाई हराएकी बहिनी खोज्ने हुटहुटी बढाएको थियो । त्यसैले, साहुले कुरा छल्दा, दूतावासले कुरा नसुन्दा र पटक पटक आफ्नै मनले हार खाँदा पनि सुनबहादुर रोकिनु भएन । र त कुवेतबाट बहिनी घर आइपुग्दा एउटा युद्ध आफूले जीतेको अनुभव भएको छ सुनबहादुरलाई । मन हलुङ्गो भएको छ । 

कुवेत गएकी गोरी जब बेखबर हुनुभयो

कुरा २०६९ सालको हो । सुनबहादुर स्याउ टिप्ने मौसमी काम गर्न भारतको सिम्ला जानुभएको थियो । घरका मानिसको खबर थाहा पाउन मुस्किल थियो । त्यो बेला अहिलेजस्तो हात हातमा मोबाइल फोन थिएन गाउँमा । 

एक सिजनको काम सकेर घर आउँदा बहिनी घरमा थिइनन् । एजेण्टले बहिनी गोरी तामालाई रोजगारीका लागि कुवेत पठाएको कुरा सुनबहादुरले घर आइसकेपछि मात्रै थाहा पाउनुभयो । 

त्यो बेलै सुनबहादुरलाई लागेको थियो – कलिली बहिनीले परदेशी भूमिमा दुःख पाउने त हैन । सुनबहादुरको शङ्कालाई समयले सत्य साबित गरिदियो । 

घरबाट हिँडेको ६ महिनापछि एक पटक कुवेतबाट गोरीको फोन आयो । तर कुरा पूरा हुन पाएन । न घरको कुरा पूरा सुनाउन पाउनुभयो न त बहिनीको खबर सोध्न भ्याउनुभयो । बोल्दा बोल्दै फोन काटियो । 

‘बोल्दा बोल्दै फोन खोसिदिए, दाइले बाउ बिरामी छ जसरी नि घर आऊ भनेको थियो, राम्रोसँग बोल्न पनि दिएन’ साहुको घरको त्यो अवस्था गोरी सुनाउनुहुन्छ ‘मलाई दिएको मोबाइल र सिम नै फुटाइदिए साहुले अनि कसरी फोन गर्नु ।’

त्यसपछि दाजु र बहिनीले एक अर्काको बोली सुन्न १० वर्ष कुर्न पर्यो ।  

गोरीको फोन आउन छाडेपछि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका ६ को ढापसुङमा रहेको घरमा चिन्ता र छटपटी बढ्दै थियो भने कुवेत पुगेकी गोरी कसैले कल्पना नगरेको भुमरीमा परिसक्नुभएको थियो । जहाँबाट न निस्कने विकल्प थियो न हारगुहार माग्ने कुनै उपाय । आफ्नाहरूको यादमा लुकेर रुन पनि गोरीले घरको कुना खोज्नुपर्थ्यो । गोरीको आशु र पानीले साहुका घर बराबर भिज्न थालेको थियो र रुँदा पनि साहुको गाली बर्सिन्थ्यो ।

‘कहीँ जान पनि नदिने, जति बेला पनि घर भित्रै, मलाई के बार हो, कुन दिन हो, कुन महिना हो, नेपालमा के चाडबाड आयो भन्ने थाहै हुन छाडेको थियो’ गोरी भन्नुहुन्छ ‘कुवेत पुगेपछि मलाई केही थाहै भएन, केही हेर्नै दिएनन् ।’

‘रुन मन लाग्थ्यो, तर रोएको देख्यो भने गाली गर्ने, किन रोएको भन्ने, साहुका बच्चाहरूले कुट्थ्यो’ साहुको घरको भोगाइ सुनाउँदा गोरीका परेलामा पानी छचल्किन्छ ।

बालबच्चा हेर्ने, खान बनाउने र घरको सबै कामको जिम्मेवारी गोरीकै काँधमा थियो । कुवेत पुगेर काम थालेको दिनदेखि गोरीको संसार साहुको घरभित्र कैद भयो । कहिलेकाहीँ साहुनीको माइतीघर साउदी लिएर जान्थेँ । तर गाडीमा यात्रा गर्दा पनि बाहिर हेर्न पाइँदैन थियो ।

गोरीको ज्यानलाई घर बाहिरको हावाले त्यति बेला मात्र स्पर्श गर्थ्यो, जति बेला घरको फोहोर फाल्न बाहिर निस्कने मौका मिल्थ्यो । अरुबेला घर बाहिर निस्कनु गोरीको अपराध ठहरिन्थ्यो ।  आफू कुवेतमा १० वर्ष बसेछु भन्ने कुरा पनि गोरीले नेपाल आएपछि मात्रै थाहा पाउनुभयो ।

‘कहीँ जान पनि नदिने, जति बेला पनि घर भित्रै, मलाई के बार हो, कुन दिन हो, कुन महिना हो, नेपालमा के चाडबाड आयो भन्ने थाहै हुन छाडेको थियो’ गोरी भन्नुहुन्छ ‘कुवेत पुगेपछि मलाई केही थाहै भएन, केही हेर्नै दिएनन् ।’

गोरीले घर जान्छु भन्दा साहुको जवाफ एउटै हुन्थ्यो ‘अहिले घर जाने समय भएकै छैन ।’

त्यसो भए दाइलाई फोन गरिदेऊ भनेर ढिपी गर्नुहुन्थ्यो । तर साहुले भन्थेँ ‘तिम्रो दाइको नम्बर नै छैन, के मा फोन गरिदिनु ।’ अनि गोरी चुपचाप काममा लाग्नुहुन्थ्यो । 

कामै कामले जब ज्यान बिमार पथ्र्यों तब गोरीलाई लाग्थ्यो – अब म यतै मर्छु होला ।

साहुलाई बिरामी भएँ, औषधी ल्याइदिनुहोस् त भन्नुहुन्थ्यो । तर जति दिन ज्वरो आओस्, जति दिन टाउको दुखोस्, चाहे ज्यान ओछ्यानमै परोस् तर आराम गर्न छुट थिएन । साहु साहुनीले अराएका काम गर्न हरदम तयार हुनुपर्‍यो ।

‘काम गरेको तलब पनि नदिने, जति बेला पनि काम गर्नु पर्ने, साहुका छोराछोरीले कुट्ने, कम्ता सकस थिएन’ गोरी भन्नुहुन्छ ‘मैले दश वर्ष रुँदै काम गरिरहेँ ।’

फोन गरेको नम्बर बाेकेर बहिनी खोज्दै हिँडेका सुनबहादुर 

अन्तिम पटक गोरीले फोन गरेको नम्बरमा सुनबहादुरले हजारौँ पटक फोन गर्नुभयो । कहिले लाग्दैनथ्यो । लागिहाल्दा फोन उठ्दैन थियो । उठिहाले गोरी आफ्नो घरमा नभएको भन्दै फोन काटिन्थ्यो । 

यसरी नै छ सात वर्ष बितेपछि सुनबहादुरलाई डर लाग्न थाल्यो । ‘पराई देशमा के गर्‍यो गर्‍यो, अब चाहिँ कि लास कि सास खोज्छु भनेर हिँड्यो म’ सुनबहादुर गोरीले अन्तिम पटक फोन गरेको त्यही नम्बर लिएर बहिनी खोज्न घरबाट निस्कनुभयो । कहाँ जाने थाहा थिएन ।

गाउँका जान्ने बुझ्नेले परराष्ट्र मन्त्रालय जानुपर्छ भनेपछि उहाँको पाइला काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभागमा पुगेर अडियो । विभागमा पुगेर बहिनी हराएको निवेदन दिनुभयो । कन्सुलर विभाग पुगेपछि हराएकाहरूलाई खोज्न गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि सहयोग गर्छ भन्ने थाहा पाउनुभयो । त्यसपछि एनआरएनएको कार्यालयमा पनि आफ्नो बहिनी हराएको कुरा बेलिबिस्तार लगाउनुभयो । 

पटक पटक यी कार्यालय धाएपछि बहिनी त्यही पुरानै साहुको घरमा काम गरिरहेको कुरा पत्तो लाग्यो ।

‘बहिनीलाई दबाबमा पारेर दूतावासलाई सबै राम्रो छ भन्न लगाएपछि बहिनीले दूतावासमा मलाई राम्रो छ र म खुसी छु भनेछ’ सुनबहादुर दूतावासले दिएको जानकारी सुनाउनुहुन्छ । 

‘मैले फोन गर्दा पो गोरी यहाँ छैन भनेर ढाटेको रहेछ त, दूतावास परराष्ट्र मन्त्रालयले फोन गरेपछि त छ भनेछ’ सुनबहादुरलाई बहिनी कुवेतमै साहुकै घरमा काम गरिरहेको छ भन्ने खबरले ठुलो राहत दियो र बहिनीसित भेट हुने आस जगायो । 

कुवेतमा रहेको नेपाली दूतावाससँग फोनमा कुराकानी गर्दै आफ्नी बहिनीलाई उद्धार गरेर नेपाल पठाइदिन अनुरोध गरेपछि गोरीको साहुले अर्को चाल चाले ।

‘बहिनीलाई दबाबमा पारेर दूतावासलाई सबै राम्रो छ भन्न लगाएपछि बहिनीले दूतावासमा मलाई राम्रो छ र म खुसी छु भनेछ’ सुनबहादुर दूतावासले दिएको जानकारी सुनाउनुहुन्छ । 

त्यसपछि दूतावासले पनि सुनबहादुरको कुरालाई थप प्राथमिकता दिएन । तर सुनबहादुरको मनमा भने झन् आगो बल्न थाल्यो । अनि जसरी पनि आफ्नी बहिनीलाई साहुको पञ्जाबाट फुत्काएर ल्याउने प्रण गर्नुभयो ।

गएको मङ्सिरमा सुनबहादुरको भेट हेलम्बु गाउँपालिकाको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रमका कर्मचारीसँग भयो । सामी कार्यक्रम सुरक्षित वैदेशिक रोजगारीसँग सम्बन्धित हो भन्ने थाहा पाएपछि सुनबहादुरले सबैभन्दा पहिला आफ्नी बहिनीकै अवस्थाबारे जानकारी गराउनुभयो । 

त्यसपछि सुनबहादुरले सिन्धुपाल्चोक चौतारामा रहेको आप्रवासी स्रोत केन्द्रमा गएर बहिनीको बारेमा विस्तृत विवरण टिपाउनुभयो । त्यो विवरण सामीको साझेदार संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) हुँदै फेरि कुवेतको दूतावासमै पुग्यो । तर पहिले दूतावासले बुझेको र अहिले बुझेको तथ्य आनका तान फरक परेपछि बल्ल दूतावास सक्रिय भयो । उद्धारपछि गोरी गएको मङ्सिर अन्तिममा घर आइपुग्नुभयो ।

१० वर्षपछि गोरीको पाइला गाउँमा

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ को ढापसुङ हो गोरीको गाउँ । अक्करे भिरको शिरमा, भिरालो बस्ती । गाउँमा सबैजसो घर एक तले छन् । घरको छानो जस्ताले छाइएको छ । गोरीको गाउँमा पुग्दा मनमा लाग्छ, ओहो यस्तो भिरको शिरमा पनि कति राम्रो बस्ती ।

तर गोरीलाई भने १० वर्षपछि गाउँमा आइपुग्दा थुप्रै कुरा राम्रो लागेको छैन । १५ वर्षको उमेरमा आजभन्दा १० वर्षअघि गोरीले गाउँ छाड्दा घर अर्कै थियो । घरमा बुवा र आमा थिए । गोरीको चाहना कुवेतमा पैसा कमाएर बुवा आमालाई पठाउँला भन्ने थियो ।

कुवेतमा कमाउने चाहना अधुरै रह्यो, साहुले गोरीको १० वर्षको पसिनाको मूल्य एक रुपैयाँ पनि दिएनन् । अर्कोतिर आमा भेटे पनि गोरीले यही बीचमा बुवालाई गुमाउन पर्यो । 

‘बाउआमालाई कमाएर एक रुपैयाँ दिन सकिन’ दबिएको आवाजमा गोरी भन्नुहुन्छ ‘बाउआमा त होला भनेको बाउ नै रहेनछ ।’ 

गोरी कुवेत उडेपछि २०७२ सालमा नेपालमा भूकम्प गयो । त्यही भूकम्पमा परी गोरीका बुवाको ज्यान गयो । तर बा बितेको खबर पनि गोरीले घर आएर मात्रै पाउनु भयो । 

एकै पटक गाउँ आइपुगेर यी सबै कुरा थाहा पाउँदा गोरीलाई असह्य भयो ।

‘म जाँदा हाम्रो घर आँगन कस्तो राम्रो थियो, अहिले घर नै अर्कै छ, मलाई त नराम्रो लाग्यो’ एक दशकपछि घर फर्कन पाउँदा रमाएको गोरीको मन यही कुराले दुखेको छ । 

गोरीका आँखामा छचल्किने आँसुले गर्ने प्रश्न मात्र सुनबहादुरसित छ, तर सुनबहादुर र गोरीका प्रश्नको जवाफ कसैसित छैन । 

मङ्सिर अन्तिममा घर आइपुगेकी अनुहार २ महिना बित्दा पनि निन्याउरै छ ।

टाउकोमा रातो रुमाल, रातै रङ्गको कुर्ता र निलो स्वेटर लगाएकी गोरी नामजस्तै गोरी हुनुहुन्छ । तर ज्यान सुकेर लौरी झैँ भएको छ । छाला हड्डी मै टासिएको देखिन्छ । गोरो अनुहारलाई चायाँ पोतोले ढाकेको छ । ज्यानमा तागत छैन । उभिँदा रिँगटा लाग्छ । ज्यान ढापसुङको घरमा आइपुग्दा पनि मन कुवेतको साहुले दिएको दुख सम्झेर धरधरी रोइरहन्छ । बुवालाई अन्तिम पटक देख्नसमेत नपाउँदाको पीडाले छटपटी हुन्छ ।

दाइ सुनबहादुर भन्नुहुन्छ ‘यतिका वर्ष साहुले भित्रभित्रै राखेर होला बहिनीले तामाङ र नेपाली दुवै भाषा बोल्न बिर्सेको रहेछ, अहिले अलिअलि बोल्न थालेको छ, तर शारीरिक रूपमा एकदमै कमजोर भएको छ ।

हाँसेर अरूसँग दोहोरो कुरा गर्ने, दह्रो खुट्टा टेकेर ढापसुङको उकाली ओराली गर्न अहिले पनि सक्नुहुन्न गोरी । पीडा, दुख र हण्डर खपेर घर फर्केकी गोरीका आँखामा  आशु र प्रश्न छन्, तर उनका प्रश्नको जवाफ दाजुसित पनि छैनन् ।

त्यसैले सुनबहादुर बहिनीका टिलपिल गरिरहेका आँखामा हेर्दै भन्छन् ‘ख्वाइप्याई गर्दा बहिनीको जीउ त तङ्ग्रिएला, तर १० वर्ष एउटै घरमा थुनिएर मेरी बहिनीले भोगेको शारीरिक र मानसिक सास्तीको भरपाई कसले देला ?’ 

गोरीका आँखामा छचल्किने आँसुले गर्ने प्रश्न मात्र सुनबहादुरसित छ, तर सुनबहादुर र गोरीका प्रश्नको जवाफ कसैसित छैन । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया