जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन ...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - धादिङका रेवती परियार चाँडै नै उपचार गराएर छिट्टै घर जाने आशाले आइतवार बिहान साढे १० बजे नै वीर अस्पताल पुग्नुभयो । उहाँ पुग्दा अस्पतालमा डाक्टरहरुको हडताल थियो । तर, उहाँलाई भने अस्पतालमा हडताल छ भन्ने कुरा थाहा थिएन । छिटै उपचार गराएर चाँडै नै घर फर्किने सुरमा आउनु भएका परियारले हडतालका कारण उपचार गराउन पाउनु भएन ।
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका एक डाक्टरमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा चिकित्सक सङ्घको आश्वानमा आइतवार बिहान आकस्मिकबाहेक अस्पतालको सेवा ठप्प भएको थियो।सरकार र चिकित्सक सङ्घको टोलीबीच वार्ता सफल भएपछि दिउँसोदेखि अस्पतालले सेवा दिन सुरु गरेको हो ।
अस्पतालले आइतवार दिउँसोदेखि सेवा दिन सुरु गरे पनि अस्पताल खुल्ने हो कि नखुल्ने हो भनेर धेरै बिरामी फर्किएका थिए । यस्तै अलमलमा हुनुहुन्थ्यो दोलखाकी सरला भण्डारी । उहाँ दोलखाबाट काठमाण्डौमा राम्रो उपचार पाइन्छ भनेर कानको उपचार गराउन आउनु भएको हो । उहाँको कानको अपरेशन पनि भयो । तर, टाँका खोल्न भनेर अस्पताल आउँदा भने हडतालका कारण बन्द थियो ।
उहाँ पनि चाँडै नै उपचार गराउनु पर्छ भनेर बिहान ११ बजे नै अस्पताल आउनु भएको हो । तर, अस्पताल आउँदा भने अस्पतालका सेवा बन्द थिए । भण्डारी भन्नुहुन्छ, ‘११ बजे आउँदा सेवाहरु बन्द गरिएको छ । आन्दोलन चलिरहेको छ । हडताल छ, भन्नुभयो । तर, एकछिन पछि आउँदा फेरि सुरु भएको रहेछ ।’
उहाँ आफूमात्र बिरामी नभएर उहाँको छोरी पनि बिरामी हुनुहुन्छ । जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा छोरीको हातको अपरेशनका लागि उहाँलाई सोमवार भने जोरपाटी जानु छ । तर, आज यता काम सकाएर भोलि छोरीको अपरेशनका लागि जाने भन्ने उहाँको योजना एक दिन पछाडि धकेलियो । हडतालका कारण उहाँको टाँका खोल्ने काम भएन । त्यसका लागि सोमवार पनि आउनु पर्ने भयो ।
डाक्टरको हडतालका कारण बिरामीहरु प्रत्यक्ष मारमा पर्ने कारणले यस्ता संवेदनशील क्षेत्रमा काम गर्ने विज्ञहरुले यस्ता अप्रिय निर्णय गर्न नहुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘हामीलाई यस्तो हडताल नगरेको राम्रो । भए पनि हामीले त केही गर्न सक्दैनौँ । सकेसम्म नगरेको राम्रो । जतततै नराम्रो मात्र सुनिन्छ ।’
उहाँ हडताल हुनुमा डाक्टरको मात्र दोष देख्नुहुन्न । यसमा डाक्टरमाथि भएको दुर्व्यवहार पनि कारक रहेको भन्ने उहाँलाई लाग्छ । भण्डारी भन्नुहुन्छ, ‘डाक्टरलाई त्यस्तो नगरेको भए राम्रो हुन्थ्यो । सबै पक्षले राम्रोसँग काम गरेर राम्रो सेवा सुविधा दिए राम्रो हुन्थ्यो । जसरी जे गरे पनि असहज हुने भनेको नागरिकलाई नै त हो ।’
डाक्टरको हडतालका कारण सिन्धुपाल्चोकका पोषक गुरागाईँलाई पनि मर्का पर्यो । उहाँ भने आफ्नी सासुआमाको रिपाेर्ट देखाउन आइतवार वीर अस्पताल पुग्नुभयो । उहाँलाई बिरामी ल्याउनु पर्दैन रिपाेर्ट मात्र देखाउन जो आउँदा पनि हुन्छ भनिएको थियो ।
उहाँ भन्नुहुन्छ, ‘यदि डाक्टरले बिरामी ल्याउनु पर्दैन नभनेको भए त आज आउनै नसकिने रहेछ । अनि के गर्ने ? त्यसमा पनि रिपाेर्ट देखाउन दुई बजेपछि जो आउँदा पनि हुन्छ भनेका कारण ढिलै आइयो । तर, पनि पालो आएको छैन । देखाउन पाइन्छ भन्ने छैन ।’
अस्पताल बन्द भएका कारण बिरामीहरुले दुःख पाएकोमा उहाँ डाक्टर मात्र दोषी ठान्नुहुन्न । र, यस्तो अवस्था आउन नदिन सबैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘सवारीका बेला बाटो सबै रोक्नुपर्छ भन्ने छैन । बाटो रोक्दा पनि कतिसम्म रोक्ने । सवारी रोक्दा कतिलाई मर्का पर्छ भन्ने पनि विचार गर्नुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।