सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच आज वार्ता

 फागुन २, २०७९ मंगलबार ७:३४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच आज वार्ता हुँदैछ ।

ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घ आन्दोलनमा छन् ।  उनीहरुसँग बिहान ८ बजे वार्ताको तयारी भएको उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।

हिजो नै नयाँ बसपार्क क्षेत्रमा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधिहरूलाई छलफलमा बोलाए पनि वार्तामा बस्न उनीहरुले आनाकानी गरेका थिए ।  हिजो वार्ता हुन नसकेपछि आज गर्ने तयारी गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पनि बिहान ८ बजे वार्तामा बस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘वार्ताभन्दा अगाडि हामी केही बोल्दैनौँ, वार्ता पछि महासङ्घले औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।’ ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा गरेको विरोध हिंसात्मक बनेको थियो ।

यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान र प्रहरीको एउटा अस्थायी बिटमा आगजनी गरेका थिए  । आन्दोलनरत पक्षले बसपार्क क्षेत्रमा तोडफोड, आगजनी तथा सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । हिजो नयाँ बसपार्क क्षेत्रमा सडकमा नै गाडी तेर्स्याएर उनीहरुले सडक अवरुद्धसमेत गरेका थिए ।

आन्दोलनका कारण तनावग्रस्त बनेको बसपार्क क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । यस्तै, काठमाण्डौ उपत्यकाका सडकका चोकचोकमा पनि सुरक्षाकर्मी खटिएका छन् । यातायात व्यवसायी र मजदुरको आन्दोलनका कारण यात्रु मारमा परेका छन् । सामाजिक सञ्जालमा आन्दोलनको विरोध र आलोचना भइरहेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया