जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन ...
माघ ७, २०८१ सोमबार
काभ्रेपलाञ्चोक - पनौती नगरपालिकामा रहेकाे फुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानकाे सुरुआत गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गएकाे पुस अन्तिम हप्ता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) को अनुमति दिएको थियो ।
त्यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गएकाे माघबाट सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप सोमवार हिजाेदेखि परीक्षण उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताउनुभयो । 'व्यावसायिक उडानका लागि परीक्षण उडान थालेका हौँ, तीन दिनको परीक्षण उडानपछि व्यावसायिक उडान गर्नेछौँ', उहाँले भन्नुभयो । सम्पूर्ण तयारीपछि उडान थालिएको जनाइएको छ ।
अध्यक्ष हुमागाईँका अनुसार अहिले उडानका लागि तीन प्याराग्लाइडिङबाट ‘डेमोस्ट्रेशन’ उडान भएको हो । परीक्षण उडानपछि क्रमशः १० वटाले प्याराग्लाइडिङबाट उडान सञ्चालनमा ल्याइने जनाइएको छ । ‘डेमोस्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्याण्डिङ’का स्थान यकिन गरी दुवै क्षेत्रको दिगो व्यवस्थापनमा लाग्ने उहाँले बताउनुभयो ।
कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दूमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिक उडानका लागि परीक्षण भइसकेका थिए । त्यस ठाउँबाट उडान भर्ने ठाउँ, ल्याण्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले अहिले अनुमति पाएको जनाइएको छ ।
यस्तै प्रालिले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि दिउँसाे ४ बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरुगरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ ।
गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने ठाउँ समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्याण्डिङ हुने ठाउँ बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।
प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवालाई त्यही विषयको अध्ययन गराइएको थियो । 'प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटन प्रचारात्मक हुने अपेक्षा गरेका छौँ', पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भन्नुभयो । उहाँका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्नेछ ।
पनौती नगरले पनि चालु आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । साथै यस वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न नगरले आफ्नो नीति तथा कार्यक्रममासमेत उल्लेख गरेको छ । यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवर्द्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता इभेन्ट सञ्चालन गरिने योजनामा राखिएको हो ।
नगरले यसअघि गएकाे वर्ष चैतमा पर्यटन प्रवर्द्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको थियो । साहसिक खेल नगरको १ नं वडामा रहेकाे सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेल रुट तय गरिएको छ । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए ।
यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दूम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने छ ।
गएकाे वर्ष असोजमा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवर्द्धनार्थ घुम्ने ठाउँ र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ । यस्तै साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त ठाउँ रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।