भारतले दियो मीरगञ्ज पुल प्रयाेगको अनुमति : छोट्टियो १ सय १६ किलोमिटर दुरी

 फागुन ३, २०७९ बुधबार ११:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय भन्सार विभागले बिहार अररियाको मीरगञ्ज पुल नेपालीका लागि पूर्ण रूपमा खुला गरेको छ । विभागले चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की पुल बनेपछि पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको हो ।

पुल सञ्चालन गर्न मोरङ व्यापार संघले दबाब दिँदै आएको थियो । यो पुल दुई महिना अघि नै सञ्चालनमा आएको थियो । तर, नेपालतर्फ भित्रने मालबाहक गाडी भण्टाबारी नाकाबाटै आउने गरेका थिए । भारतीय भन्सार विभागले अब मालबाहक गाडीलाई आवतजावतको अनुमति दिएको हो । यो अनुमतिपछि भारतलगायत तेस्रो देशबाट नेपाल आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालबाहक गाडी १ सय १६ किलोमिटर दुरी पार गर्दै सुनसरीको भण्टाबारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट अन्त्य भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताउनुभयो ।

अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसिपी आइपुग्ने सुविधा प्राप्त भएको छ । विभागले आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । साथै विराटनगरको आइसिपीबाटै आयात र निर्यात औपचारिक सुरूआत भएको छ । मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।

जोगवनी नाकाबाट मालबाहक जान नसकेपछि सुनसरीको भण्टाबारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक वर्षमा व्यवसायीहरूले ११ करोड ५२ लाख रुपैयाँ बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।


 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया