नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – नेपाल र भारत सीमा नदी महाकालीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुलको उद्घाटन भएकाे छ । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिका वडा नम्बर २ मालगाउँ र व्यास वडा नम्बर ४ मलघट्टेमा बनेका पुलको आज बिहीवार नेपाल र भारतका अधिकारीहरूले रिबन काट्दै उद्घाटन गरेका हुन् ।
पुल उद्घाटन कार्यक्रममा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, दार्चुलामा रहेकाे सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलालका प्रहरी प्रमुख, व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामी, गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवर लगायतको सहभागिता रहेको थियो । त्यस्तै भारतको तर्फबाट पिथौरागढका डीएम रिना जोशी लगायतको सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने छ । पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्नेछ । भारततर्फको पुलको सुरक्षाका लागि भारतीय प्रशासनलाई पत्राचार गरिएको प्रजिअ उपाध्यायले बताउनुभयाे । मालघाट गस्कुको झोलुङ्गे पुलको सुरक्षा दुम्लिङमा रहेको सशस्त्र प्रहरी र मालघट्टेको पुलको सुरक्षा सुन्सेराको जनपद प्रहरीले गर्ने प्रशासनले जनाएको छ ।
महाकाली किनारका दार्चुलावासी किनमेल तथा मेलापातका लागि पारि भारततर्फ जाने गर्दछन् । पुल नहुँदा ट्युब र तुइनको सहायताले पारि जानुपर्ने बाध्यता थियाे । ‘महाकालीमा पुल बनेपछि तुइन र ट्युबबाट वारिपारि गर्नुपर्ने बाध्यता हटेको छ’, व्याँस गाउँपालिका अध्यक्ष धामीले भन्नुभयाे, ‘अब वैधानिकरूपमा पुलबाट यहाँका मानिस नेपाल–भारत ओहोरदोहोर गर्न सक्छन् ।’ महाकालीमा झोलुङ्गे पुल सञ्चालनमा आएसँगै तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएकाे छ ।
दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्न १० वटा झोलुङ्गे पुल छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापन अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चार वटा पुल निर्माण भएर सञ्चालनमा आएका छन् । मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ वडूगाउँमा गएकाे वर्ष पुल सञ्चालनमा आएको थियो। व्यास गाउँपालिका–२ मालघाट गस्कु र वडा नम्बर ४ वर्तीघाट मालघट्टेमा पुल निर्माण सम्पन्न भइसकेको छ । यस्तै दार्चुलाको खलङ्गामा रहेकाे पुलघाट, व्यासको सीतापुल, तिग्रम, महाकालीको दत्तु र लेकमको लालीमा झोलुङ्गे पुल सञ्चालनमा रहेको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाललाई तुइनमुक्त बनाउने घोषणा गर्नुभएकाे थियाे । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल पनि बन्दैछ । व्यास गाउँपालिकाको तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा पनि झोलुङ्गे पुलको आवश्यकता रहेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।