आज महाशिवरात्रि : पशुपतिमा बिहानैदेखि घुइँचो

 फागुन ६, २०७९ शनिबार ७:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ ।

बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा  भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ । शिवरात्रिमा पशुपतिनाथ मूलमन्दिरमा २० लाख दर्शनार्थीले प्रत्यक्ष दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।

पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गीको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार पशुपति क्षेत्रमा भक्तजनको भिड हुने भएकाले आज ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम राखिएको छैन ।

शिवरात्रिमा पशुपति क्षेत्र पुग्ने भक्तजनलाई व्यवस्थापन गर्न झण्डै चार हजार स्वयंसेवक खटिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । पशुपतिनाथमा क्षेत्रमा ३ हजार ५ सय प्रहरी परिचालन गरिएको छ ।

शिवरात्रिमा पुग्ने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्दिर अगाडिको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया