महाशिवरात्रि : सात लाख भक्तजनद्वारा पशुपतिकाे मूल मन्दिरको दर्शन

 फागुन ७, २०७९ आइतबार ८:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - महाशिवरात्रिका अवसरमा हिजो सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका  अनुसार हिजो मूल मन्दिरको सात लाख भक्तजनले दर्शन गरेका थिए । यस्तै, मन्दिर परिसरमा भने झण्डै १५ लाख भक्तजन पुगेका अनुमान गरिएको छ ।

पशुपतिनाथ मन्दिरको दर्शनका लागि हिजो बिहान ३ बजेदेखि नै लाइन लागेको थियो । दर्शनार्थीका लागि हिजो पाँच वटा लाइनको व्यवस्था गरिएको थियो ।  दर्शनार्थीले हिजो लामो लाइनमा बस्नु परेको गुनासो गरेका थिए । तर, पशुपति क्षेत्र विकास कोषले भने हिजो लाइन व्यवस्थित भएको दाबी गरेको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले दर्शनार्थीको भिड बढ्दा लाइन लामो भएको बताउनुभयो । उहाँले दर्शनार्थीले सजिलै दर्शन गर्न पाएका दाबी गर्नु भएको छ । तर, दर्शनार्थीले हिजो दुई घण्टासम्म लाइन बस्नु परेको गुनासो गरेका थिए ।

शिवरात्रिका अवसरमा दर्शनार्थीबाट १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको पनि अनुमान गरिएको छ । मन्दिरमा चढाइएको  भेटीको गणना आज हुनेछ ।  भक्तजनको सङ्ख्याकाे आधारमा १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको अनुमान गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार महाशिवरात्रिका अवसरमा पशुपति आएका साधु सन्तको बिदाइ भोलि गर्ने तयारी छ ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ । साधुसन्तको स्तर वर्गीकरण गरेर पाँच सयदेखि आठ हजारसम्म दान दक्षिणा दिएर बिदाइ गर्ने तयारी छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई रङरोगन गरिएको थियो भने फूलमालाले सजाइएको थियो ।

यस्तै, पशुपति मन्दिर क्षेत्रको सरसफाइ आजैदेखि सुरु हुने कोषले जनाएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया