सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : माधव नेपाल

 फागुन ७, २०७९ आइतबार १५:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कारण सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै उहाँले राष्ट्रपति चुनावपछि मात्रै देशकाे राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुङ्गो लाग्नेसमेत बताउनुभयो ।

आइतवार काठमाण्डाैकाे कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियुकाे स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सबै पद आफैँले लिएर देशमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति चुनावपछि मात्रै भन्न सकिने बताउनुभयो । त्यसका लागि अब एक हप्तामात्रै पर्खे पुग्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘कुन दिन त्यो गठबन्धन भत्किने हो ठेगान छैन । गठबन्धनको सरकार भत्केपछि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर चिन्ता सुरु भइसकेको छ । त्यसो हुनाले देशको राजनीतिले कुन कोर्स लिने हो भन्ने कुरा राष्ट्रपतिको चुनावबाट थाहा भइ हाल्छ । अब सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हाबी हुने हो कि सन्तुलनको राजनीति अपनाएर जाने भन्ने मान्यता हाबी हुने भन्ने कुरा हप्ता दिनभित्र टुङ्गो लागि सक्छ ।’

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै देशमा फेरि मण्डलेहरू जाग्न लागेको प्रतिक्रिया दिनुभयाे । उहाँले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिस्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्कसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रूपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया