भारतद्वारा नेपाललाई दुई सय वटा मिर्गौला डायलासिस मेसिन हस्तान्तरण

 फागुन ८, २०७९ सोमबार १३:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - भारत सरकारले दुई सय वटा मिर्गाैला डायलासिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमवार आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मेसिन हस्तान्तरण गर्नु भएको हो । करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो।

समारोहमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड सङ्कटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली नागरिकले सदास्मरण गरिरहने बताउनु भयाे । 

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ । यसबीचमा दुई देशबीच सरकार सरकारको बीचमा मात्रै नभइ नागरिकको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदै आएको  छ । दुई देशबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो।' 

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो । 

राजदूत श्रीवास्तवले भन्नुभयो,  ‘करिब एक वर्षअघि नेपाल सरकारको तर्फबाट २ सय वटा मिर्गाैला डायलासिस मेसिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । त्यही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ। हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौँ । भारत नेपालको छिमेकी मात्रै नभइ विकास साझेदार राष्ट्रपति हो । नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ।'

भारतले काेराेना भाइरस सङ्क्रमणका बेला पनि १ सय ३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा  कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया