भक्तपुरमा बर्डफ्लु भेटियो : तीन वटा फार्मबाट ११ हजारभन्दा धेरै कुखुरा र चल्ला नष्ट

 फागुन ११, २०७९ बिहीबार ७:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

भक्तपुर - भक्तपुरमा कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । कुखुरामा बर्डफ्लु देखिएपछि तीन वटा फार्मबाट ११ हजारभन्दा धेरै कुखुरा र चल्ला नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।

विभागका अनुसार चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको हो । तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरिएको छ । फार्ममा पालिएका कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेटिएको पशु विभागका पशु चिकित्सक डा. श्रीजा वाग्लेले जानकारी दिनुभयो ।

बर्ड फ्लु थप फैलन नदिन पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिन पनि उहाँको सुझाव छ । कुखुराको मासु राम्ररी पकाएर खान, पोल्ट्री फार्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिन, खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउन, काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गर्न, चल्ला र दाना खरिदकर्ताले बिक्री गर्ने स्वास्थ्य प्रमाणित भए/नभएको बुझ्न, फार्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्न पनि डा. वाग्लेको आग्रह छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया