आजदेखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै, ढुक्क भएर खान आग्रह

 फागुन ११, २०७९ बिहीबार ८:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले आजदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ ।

लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासको सुझाव छ । हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा रोग देखा पर्ने गरेको छ । धेरैलाई यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ । डाक्टरले केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान सुझाव दिएका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने महाशाखाले जनाएको छ ।

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ । हिमाली ८ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालीकोट, मुगुमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन अभियान सञ्चालन गर्न आवश्यक भए/नभएको बारे अनुसन्धान हुँदैछ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया