कलङ्की–महाराजगञ्ज सडक खण्ड विस्तारको काम चाँडै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

 फागुन ११, २०७९ बिहीबार १२:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलङ्की–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । 

बिहीवार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडक खण्डको निरीक्षण एवम् अवलोकन गरेको हो ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताउनु भयो । उहाँले कलङ्कीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक पनि अब चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफल गरी छटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको बताउनु भयो । उहाँले यस सडक खण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्बाध रुपमा सडक विस्तार गर्ने काम सुरु हुने प्रतिबद्धता जनाउनु भयो ।

बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम सुरु गर्ने तयारी रहेको बताउनु भयो । उहाँले स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक डिजाइन परिवर्तन गर्ने सहमति भएको पनि बताउनु भयो । उहाँले चीन सरकासँग कलङ्कीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भए पनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक विस्तार गरिदिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो खण्ड चक्रपथ विस्तार गर्ने काम सम्पन्न गर्नुछ । कलङ्कीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ । यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ । त्यसैअनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ । यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन । हाम्रो बीचमा मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको छ । समस्याको समाधान निकालिसकेको छाैँ ।'

उपप्रधानमन्त्री श्रेष्ठले कलङ्की–कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलङ्की–महाराजगञ्ज सडक निर्माण नभएको भए पनि अब भने तत्काल काम सुरु गर्ने तयारी रहेको बताउनु भयो ।

'बिजुलीका पोल र मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम सुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ । बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरुका कुराहरु छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ । सकेसम्म महाराजगञ्जदेखि धोबीखोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ । तर सहमति भने त्यो होइन ’उहाँले भन्नुभयाे । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया