दोहोरो सुविधा लिँदै आएका प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरूको मासिक पारिश्रमिक कटौती

 फागुन १५, २०७९ सोमबार १९:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरूलाई दिइँदै आएको मासिक पारिश्रमिक कटौती गरेको छ ।

सोमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यसबारे जानकारी गराएको हो । प्राज्ञहरूबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरूले याे निर्णय गर्नुपरेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताउनुभयो । उहाँले दोहोरो सुविधा लिएका आजीवन सदस्यहरूलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सृजनशील क्षेत्रमा लगानी गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रतिष्ठानका पदाधिकारीले आफूहरूले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गरेका थिए । नेपाली हुनुको उच्च नैतिकता सिकाउन आफूहरूले नै यस्तो निर्णय लिएको पनि कुलपति राईले बताउनुभयो ।

अहिले प्रतिष्ठानमा आजीवन सदस्य रहेकाहरूले ५१ हजार ४ सय ४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका थिए । प्रतिष्ठानबाट वार्षिक १ करोड २० लाख रुपैयाँ बराबर दोहोरो सुविधा लिने गरेकोमा यसलाई कटौती गरेर बचेको बजेटले प्राज्ञिक क्षेत्रमा नै केही गरौँ भन्ने भावना रहेको पनि प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी प्रतिष्ठानका परिषद् सदस्यहरूको कार्य विभाजन पनि गरेको छ । जसअनुसार कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौलिक इतिहास विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी बाल साहित्य विभागको जिम्मेवारी उपकुलपति विमल निभा, साहित्य प्राज्ञ डा. मधुसूदन गिरी, दर्शन शास्त्र विभाग प्राज्ञ डा. कृष्णराज अधिकारी, साहित्य (मातृभाषा) प्राज्ञ राजन मुकारुङ, साहित्य पद्यकाव्य विभागको जिम्मेवारी प्राज्ञ बाबा बस्नेतलाई दिइएको छ । प्रा. डा. कौशिला रिसाललाई सामाजिक शाष्त्र, प्राज्ञ हंसावती कुर्मीलाई अनुवाद, प्राज्ञ अमर न्यौपानेलाई साहित्य (गद्य), प्राज्ञ त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृकोष, कोश र व्याकरण), र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई भाषा (कोष र व्याकरण) विभाग हेर्ने जिम्मेवारी दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया