रुकुम पश्चिम : चौरजहारीका झण्डै एक सय परिवारकाे आम्दानीकाे स्राेत ढुङ्गाखानी

 फागुन १६, २०७९ मंगलबार १२:२९:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीका ७१ वर्षीय धनसिंह पुनले घरछेउको ढुङ्गाखानीमा काम गर्न थालेको ५६ वर्ष भयो । सानै उमेरदेखि काम गर्न थाल्नुभएका पुन बिहानै खानीमा पुगेर ढुङ्गा निकाल्ने, कुद्ने काम गर्नुहुन्छ । परिवारको लालनपालन, उच्च शिक्षा, सम्पूर्ण घरखर्च यसैबाट जुटाउनुभएको छ । खानीका पाका कामदारका रुपमा चिनिने उहाँले बाजेका पालादेखि सञ्चालनमा आएको ढुङ्गाखानीले अहिले धेरैलाई रोजगारी दिएको र ठूलो बजार लिएको बताउनुभयो । 

त्यही गाउँका ६१ वर्षीय खिमे घर्तीले पनि ढुङ्गाखानीमै काम गरेर सन्तान हुर्काउनुभयो, पढाउनुभयो । दुई छोरा, एक छोरीको उच्च शिक्षा खानीमै कमाइले पूरा गरेको घर्तीले बताउनुभयो । '१६ वर्षको उमेरमा बिहे गरेको हुँ, त्योभन्दा अघिल्लो सालदेखि खानीमा काम गर्दै आएको छु,' घर्तीले भन्नुभयो, 'कालापहाड जानु परेको छैन, सिङ्गो जीवनभर ढुङ्गाखानीमै काम बिताएको छु ।' घर बनाउने, जग्गा जोड्ने, सन्तान पढाउने मुख्य आयश्रोत नै यही ढुङ्गाखानी हो । 

पुन र घर्तीको जस्तै सिङ्गो गोइरीगाउँवासीको जीविकोपार्जनको श्रोत ‘ढुङ्गाखानी’ हो । खानीले यहाँका करिब एक सय घरपरिवारको दैनिकी प्रत्यक्ष रुपमा धानेको छ । गोइरीका ढुङ्गा घरको छानो छाउन, भान्सामा सिलौटोको रुपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ । यसका साथै पछिल्लो समय मार्बल र टायलको रुपमा प्रयोग हुन थालेको छ । 

ढुङ्गाखानी सञ्चालक मिसर कुमार मल्लले यस पटक करिब ७५ जना दक्ष मिस्त्री र २३ जना कामदारहरुले खानीमा काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार यस सिजनमा ढुङ्गा निकालिरहेका १५ वटा खानीमा कम्तीमा पाँच जनाका दरले मिस्त्री र अन्यले काम गरिरहेका छन् । हरेक वर्षको मङसिर महिनादेखि जेठसम्म ढुङ्गाखानीमा काम हुने गर्दछ । अन्य महिना वर्षायामको कारण काम हुँदैन । 

बिक्रीका लागि तयार भएका ढुङ्गाको आकार हेरेर मूल्य निर्धारण हुने गरेको छ । अहिले ७० रुपैयाँ प्रतिगोटाको दरले ढुङ्गा बिक्री भएको छ । यही मूल्यबाट जग्गाधनी, खानीमा काम गर्ने श्रमिक, लोड/अनलोड खर्च र स्थानीय सरकारलाई कर तिर्नुपर्छ । एकजना कामदारले दैनिक एक हजारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यो पनि समग्र ढुङ्गाको व्यापार हेरेर घटबढ हुने गर्दछ । ज्येष्ठ कामदार पुनले आफूले काम सुरुगर्दाताका एक सय वटा ढुङ्गालाई १० रुपैयाँमा बेच्ने गरेको सुनाउनुभयो । 

ढुङ्गाखानी व्यक्तिको जग्गामा रहेकोछ । यस वर्ष पाँच जनाको जग्गामा रहेको १५ वटा खानीबाट ढुङ्गा निकालिएको छ । अन्य जग्गामा भएका खानी कुनैमा ढुङ्गा सिद्धिएका छन् भने कुनै माटोले पुरिएका छन् । आफूहरुले ढुङ्गा निकाल्नलाई डाेजरमार्फत् महँगो खर्चमा माटो हटाएको जग्गाधनी समेत रहनुभएका खानी सञ्चालक मिसर मल्लले बताउनुभयो ।

खानी सञ्चालन गर्नलाई लगाएको लगानी बढी हुँदा सोचेजस्तो आम्दानी हुन नसक्ने चिन्ता खानी सञ्चालकहरुलाई रहेको छ । ढुङ्गाखानीबाट यस वर्ष करिब एक लाख ५० हजार ढुङ्गा बिक्री हुने अनुमान गरिएको छ।

चौरजहारी नगरपालिकाका मेयर पुष्प बादीले गोइरी र गडीमालिकामा भएको ढुङ्गाखानी स्थानीयको रोजगारको प्रमुखस्थल भएको बताउनुभयो । दुवै खानीमा गरेर करिब एक सय ५० जनाले रोजगारी पाएका उहाँले बताउनुभयो ।

स्थानीय सरकारले खानीसम्म जाने सडक बनाइदिएको र यस पटक स्तरोन्नतिको लागि ठेक्का भइसकेको मेयर बादीले बताउनु भयाे । स्थानीय सरकार र जग्गाधनीबीचको साझेदारी भएमा दीर्घकालीन योजना बनाएर खानीलाई थप व्यवस्थित र मुनाफामूलक बनाउन सकिने उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया