जनमत पार्टी सरकारबाट बाहिरिने अवस्था छैन : अध्यक्ष राउत

 फागुन १६, २०७९ मंगलबार १५:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित विद्यार्थी सङ्घको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताउनुभयो । उहाँले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताउनुभयो । सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि सरकार नफेरिने उहाँको भनाइ छ । जनमत पार्टी सरकारमा यथावत् रहेको उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले हाम्राे पार्टी सरकारबाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन । अरू पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीका लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत् छ ।’

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै त्यही बमोजिमको पात्रको रूपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताउनुभयो । जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उहाँले बताउनुभयो । राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरङ्कुशता जन्मिन सक्ने उहाँको तर्क छ । आउँदाे राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरूलाई उदारतापूर्वक प्रमाणीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष राउतले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेन्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुन सक्ने बताउनुभयो । यद्यपि यी मागहरू पूरा गर्नका लागि सरकारलाई समय भने दिइने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया