सञ्चारमाध्यमले नागरिककाे जीवनसँग गाँसिएका समाचार लिएर आउनुपर्छ : सभामुख घिमिरे

 फागुन १७, २०७९ बुधबार १४:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । बुधवार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले 'इन्जा डे' को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हक अधिकार र व्यावसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरू अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको बताउनुभयो । उहाँले रोकिएका विधेयकहरूमा सञ्चारमाध्यमहरूसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको उल्लेख गर्नुभयाे ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले खोजमूलक र जनमुखी समाचार सम्प्रेषण/प्रसारण गर्नुपर्ने बताउनुभयो । उहाँले अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अङ्गहरूलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पत्रकारितालाई हेर्दा हाम्रो विगतको लक्ष्य खास गरेर व्यवस्थालाई परिवर्तन गर्नु थियो । विरोध गर्नु थियो, ढाल्नु थियो । बहुदलीय व्यवस्था वा लोकतान्त्रिक गणतन्त्रको संविधान र संविधानबाट निर्वाचित निकायहरू बनिसकेपछि कसरी जानुपर्छ भन्ने विषयमा खोजमूलक ढङ्गबाट जानुपर्छ, अनुसन्धानात्मक ढङ्गबाट जानुपर्छ । गाउँको वास्तविकतालाई पनि उजागर गर्नुपर्छ । नागरिककाे जीवनसँग गाँसिएका समाचारहरू लिएर आउने काममा लाग्नुपर्छ ।’

इन्जाले इन्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इन्जा खोजी पत्रकारिता पुरस्कार २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ । त्यस्तै ग्रामीण पत्रकारिता पुरस्कार २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार २०७९ मा इन्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया