पृथ्वी शाहमाथि ४ वटा मुद्दा चलाउनुपर्ने सीआईबीकाे सुझाव

 फागुन १७, २०७९ बुधबार १६:४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जनाविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले सुझाव दिएकाे छ । सीआईबीले बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो ।

अमेरिकी नागरिक ठगिएको उजुरी नेपालमा रहेकाे अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका सात जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घरजग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयाे । त्यस घटनामा संलग्न पृथ्वीसहित सात जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन् । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिबाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताउनुभयो । उहाँले उनीहरूमाथि सहकारी ऐनअनुसार छुट्टै दण्ड सजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको बताउनुभयो ।

उनीहरूले ठगीबाट आर्जित रकम ३८ करोड ८६ लाख ६२ हजार एक सय ३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरूविरुद्ध अहिलेसम्म २४ जना पीडितले नेपालमा रहेकाे अमेरिकी दूतावासमार्फत उजुरी दिएका छन् । केही क्यानेडियन र बेलायती नागरिक पनि उनीहरूबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ । उनीहरूले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरूमा प्रायः वृद्धवृद्धा रहेका प्रवक्ता थापाले बताउनुभयो ।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरूले रोक्का गरिदिएको पनि सीआईबीको अनुसन्धानमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया