‘सबैका लागि समग्र स्वास्थ्योपचार’ नाराकासाथ आजदेखि अन्तर्राष्ट्रिय आयुर्वेद महासभा

 फागुन १९, २०७९ शुक्रबार ७:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आयोजना गरिने भएको छ । काठमाण्डौको रविभवनमा आजदेखि सुरु हुने महासभा पर्सि आइतवारसम्म चल्ने छ ।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । सन् २०१५ मा नेदरल्यान्ड्सकाे रोयतमोल्ड, सन् २०१७ मा बेलायतको लण्डन, सन् २०१८ मै तीनवटा महासभा नेदरल्यान्ड्सका विभिन्न सहरमा आयोजना भएको थियो । यसैगरी सन् २०१८ मै सोल्भानियामा महासभा आयोजना भएको थियो ।

नेपाल महर्षि वैदिक फाउण्डेशन र नेपाल आयुर्वेद चिकित्सक सङ्घले आयोजना गर्ने महा सभामा युरोप, भारत र नेपालका तीन सय विज्ञको सहभागिता रहने जनाइएको छ । महासभाले आयुर्वेदलाई जनजागरणका रूपमा विकास गरी जीवन विज्ञानका रूपमा ग्रहण गर्न सहयोग मिल्ने विश्वास लिइएको छ ।

फाउण्डेशनले वैदिक शिक्षा, कृषि, वास्तुलगायत विषयमा पनि काम गरिरहेको जनाइएको छ । सङ्घका अध्यक्ष डा. श्यामबाबु यादवले भारतमा आयुर्वेद हेर्ने छुट्टै मन्त्रालय भएको उल्लेख गर्नुहुँदै नेपालमा प्राथमिकतामा नपरेको जडीबुटीमा आधारित औषधि विज्ञानलाई प्रवर्द्धन गर्न महासभाले सहयोग गर्ने बताउनुभयो ।

सङ्घले सातै प्रदेशमा आयुर्वेद अस्पताल बनाउने मागलाई नीतिगतरूपमा व्यवस्था गर्न सफल भए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । आयुर्वेदमा विश्वव्यापी पुनःउत्थान महाअभियान सञ्चालन गर्ने उद्देश्यले आयोजित महासभामा ९० वटा प्रस्तुति रहने जनाइएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया