रुकुम पश्चिमकाे मुसिकाेटमा महोत्सव सुरु

 फागुन २६, २०७९ शुक्रबार २०:३०:३३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा 'रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव' सुरु भउकाे छ । मुसिकोट नगरपालिका–१ काे बराहटाकुरामा शुक्रवार महोत्सवको उद्घाटन भएको हो । 

'रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार' भन्ने मूल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवर्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव सुरु भएकाे हो ।

महोत्सवको एक कार्यक्रमबीच मुसिकोटका मेयर महेन्द्र केसीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा जिल्लाका विभिन्न ठाउँहरूबाट ल्याइएका झाँकीहरू प्रदर्शन गरिनुका साथै सांस्कृतिक प्रस्तुतिहरू देखाइएकाे थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारका अनुसार महोत्सवले जिल्लाको कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक पक्षलाई प्रचारप्रसार र प्रवर्धन गर्ने बताउनुभयो । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, हरेक दिन लाइभ दोहोरी, स्थानीय कला र संस्कृतिको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

महोत्सवमा एक सय स्टलहरू रहेका छन् । स्टलहरूमा घरेलु तथा कृषि उपजहरूको प्रदर्शनी, पर्यटकीय स्थलहरूको प्रचार सामग्री, व्यापारिक स्टलहरू रहने आयोजक राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका जिल्ला अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । महोत्सवकै क्रममा नृत्य आइडलसमेत सञ्चालन हुने उहाँले बताउनुभयो । लाइभ दोहोरीसहित अन्य रमाइला प्रस्तुति तथा मनोरञ्जनका लागि विभिन्न साधनहरू पनि महोत्सवमा रहने अध्यक्ष देवकोटाले उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया