ललितपुर महानगरको स्थानीय पाठ्यक्रममा सडक सुरक्षा विषय पढाइ हुने

 फागुन २९, २०७९ सोमबार १८:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले आधारभूत तहका लागि स्थानीय पाठ्यक्रम 'सडक सुरक्षा शिक्षा' नामक पुस्तक विमोचन गरेको छ । ललितपुरकाे जावलाखेलमा साेमवार पुस्तक विमाेचन भएकाे हाे ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सडक दुर्घटना न्यूनीकरणका लागि यो एउटा पहिलो प्रस्थान विन्दु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष आधारभूत तहका लागि पुस्तक विमोचन गर्‍याैँ, अर्को वर्ष अन्य विषयवस्तु समेटेर माध्यमिक तहका लागि पाठ्यपुस्तक निर्माण गरेर विद्यालयस्तरबाटै सडक सुरक्षाकाबारे व्यावहारिक शिक्षा प्रदान गर्नेछाैँ  ।’

ललितपुरको धोबिघाट र कुसुन्तीमा सबैभन्दा धेरै सडक दुर्घटना हुने पनि मेयर महर्जनले बताउनुभयो । उहाँका अनुसार वर्षमा धोबिघाटमा ३४ र कुसुन्तीमा २३ वटा सडक दुर्घटना हुने गरेका छन् । कार्यक्रममा मेयर महर्जनले नगर प्रहरी प्रमुख सीताराम हाछेथुकै अवधारणामा यो पुस्तक प्रकाशन गर्दै विमोचन गरिएकाले नगर प्रहरीको राम्रा कामको प्रशंसासमेत गर्नुभयो ।

यस्तै विमोचन कार्यक्रममा बोल्दै ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्रचार्यले व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै सुरु गरेको यो काममा सबैलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाबाट सडक सुरक्षा शिक्षा पुस्तक विमोचन गरेर दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम गर्ने कार्य थालनी गरेका छाैँ, हामीलाई तपाईँहरूको साथ चाहिन्छ ।’

अहिले औसत दैनिक आठ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ । यस तथ्याङ्कलाई आधार मान्ने हो भने वर्षमा झन्डै तीन हजार जनाको ज्यान सडक दुर्घटनाकै कारणले हुने गरेको पाइन्छ । सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या कम गर्ने कार्यमा 'सडक सुरक्षा शिक्षा' नामक पुस्तकले सहयोग गर्ने सहभागीहरूको अपेक्षा छ ।

ललितपुरको नगर प्रहरी प्रमुख तथा ट्राफिक प्रहरीका पूर्वनिरीक्षक सीताराम हाछेथुको प्रधान सम्पादनमा प्रकाशित यो पुस्तक सुरेश बडालले लेख्नुभएको हो । पुस्तकमा १९ वटा एकाइ रहेका छन् । यी एकाइमा चित्रसहितका कथा, प्रश्नोत्तर समावेश गरिएका छन् ।

यो स्थानीय पाठ्यक्रम आउँदो नयाँ शैक्षिक सत्रदेखि लागू गर्ने महानगरले जनाएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया