विदेशमा परदेशीको जन्मदिन त आउँछ, आमाको हातको टीका र आशीर्वाद पाइँदैन

 चैत २, २०७९ बिहिबार १२:५०:३५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

सागर घोरसाईने/बारा, हाल दुबई ।

परदेशी जीवन, हरेक दिनको सुरुवात हतार हतारमै हुन्छ । हुन त आज मेरो जन्म दिन हो । तर मलाई आज पनि हतार छ । काममा जानु छ । हतार हतार उठेर नुहाएँ अनि खाना प्याक गरेर कामतिर लागेँ ।

काममा पुगेपछि साथीभाइको फोन आउन थाल्यो । फोन र म्यासेजमार्फत साथीभाइले शुभकामना दिएपछि बल्ल जन्म दिनजस्तो लाग्यो । अलिअलि भए पनि मन रमायो । जाडो सकिएर गर्मी सुरु हुनुभन्दा पहिले निकै मनमोहक महिना फागुनमा जन्मिएको हुँ । आफ्नो जन्म महिना भएर पनि होला यो महिना निकै मन पर्छ मलाई । 

परदेशी भूमिमा भारी मन लिएर काम गरिरहँदा गाउँघरमा छदा मनाएको जन्म दिनको याद झलझली आखैभरी आइरह्यो । 

गाउँमा हुँदा जन्मदिन आउनुभन्दा १ महिना अघिदेखि कति खुसी हुन्थ्यो मन । जन्म दिनको दिन उठ्नासाथ आमाले नुहाउन लगाउनुहुन्थ्यो । अनि टीका लगाएर ठूलो मानिस बन्नु, राम्रो मानिस बन्नु, भाग्यमानी हुनु है बाबु भन्दै आशीर्वाद दिनुहुन्थ्यो । उहाँको कामना छोरालाई आँखा नलागोस्, दैव नलागुन् भन्ने हुन्थ्यो । मगमग बास्ना आउने अबिर र चामलको टीकाले त्यो दिन नै निकै मगमगाउथ्यो । आफू जति भाग्यमानी कोही पनि लाग्दैन थियो । 

पर पसलमा गएर एक रुपैयाँको चार वटा आउने चकलेट किनेर आज मेरो जन्मदिन भन्दै बाँड्दै हिँड्नुको मज्जा नै छुट्टै हुन्थ्यो । 

स्कुलमा साथीहरूले जन्मदिनको अवसरमा कापी डट पेन, सिसा कलम लगायतका उपहार दिन्थेँ । त्यो जतिको महत्त्वपूर्ण उपहार सायद अरू केही पाएकै छैन मैले । 

बेलुका घरमा मासु पाक्थ्यो । जन्मदिन हुनेले अलि धेरै खा भनेर आमाले हाल्दिनु हुन्थ्यो । दिदी, भाइ, आमा, बा सबै जना सँगै भइन्थ्यो । गरिबीको त्यो पल कतै म गरिब छु भन्ने लाग्थेन । 

तर परदेशमा त्यसको ठिक उल्टो छ । महिनै पिच्छे तलब आउँछ । आफूले चाहेको कुरा र आवश्यकताहरू पूरा हुन्छन् । तर चाडपर्व जन्मदिन वा देशमा कोही आफन्तको बिहे भयो भने यता एक्लै हुनुपर्छ । साह्रै खल्लो लाग्छ । मेरो जन्मदिनमा बिहानै आमाले फोन त गर्नु भयो । तर त्यो फोनले आमाले लगाइदिने मगमगाउने अक्षताको टीका र आमाको हात निधारसम्म आइपुगेन । आमाले निधारमा टीका टाँस्दै दिएको आशीर्वादको झल्को मेटेन ।

फोनमा आमाको आवाजमा खुसी थिएन । सायद आफ्नो छोरो काखभन्दा टाढा हुनुको पीडाले आमालाई दुःखी बनाएको थियो । यसपालि आमाको आशीर्वाद पनि अलिअलि फेरिएको थियो । फोनमा आमाले रुँदै भन्नुभयो ‘छोरा ठूलो मान्छे बन्नु, हाम्रो गरिबी हटाउन सानै उमेरमा मेरो काख छोडेर बिरानो मुलुकमा गईस तलाईँ कहिले आपत् नआओस्, कहिले पीडा नहोस्, मेरो छोरोलाई कहिले समस्याहरूले नअल्झाउन ।’ आमाले दिएको आशु मिश्रित आशीर्वादले मन भक्कानियो । 

आमाले उल्टो भन्नुभयो ‘किन रोएको भनेर नसोध नि, टाढा छस् त्यसैले रुन आयो, अरू केही हैन ।’ आमाले फोन राखेपछि शरीर थरथरी काँप्यो । म कहाँ छु भनेर सोच्न मन बाध्य भयो । शब्द नै फुरेन । निकै बेर बोल्नै सकिनँ । दिमाग शून्य भयो । 

त्यसपछि दिदीले शुभकामनाको सन्देश पठाउनुभयो । ‘मेरो भाइलाई कहिले समस्या नआओस्, सधैँ राम्रो होस्’ आदि आदि । त्यो पढ्दा मन भारी भयो । अनि सोचे मेरो जीवन निकै महत्त्वपूर्ण छ । मैले अगाडि बढेर निकै सफलता हासिल गर्नु पर्छ ।

म अल्झेर बस्न हुन्न । जीवनमा सबै क्षणिक हुन्छ । जिन्दगीको गोरेटोमा निकै मानिसहरू भेटिन्छ । कति छुटिन्छन् पनि । तर परिवार हाम्रो जीवनको त्यस्तो एउटा खम्बा रहेछ जसले सधैँ आफ्नो सन्तान सधैँ खुसी र सुखी मात्र भएको हेर्न चाहन्छ । उनीहरूको खुसीको लागि भए पनि मैले जीवनमा केही गर्नु पर्छ भन्ने आभास भयो । 

मलाई मेरो बुवाको काँधको भारी बिसाउन छ । मेरो आमाको सिरानीमा ऋणमा धरौटी राखेको जग्गाको पुर्जा निखनेर राखिदिनु छ । अनि भन्नुछ आमा तिम्रो छोरोले तिम्रो सपना पूरा गर्‍यो । अनि मेरी दिदी जसको हात कयौँ वर्षदेखि खाली छ । मेरो निधार पनि खाली छ । मेरो दिदीको मनले म बिना हरेक वर्षको तिहार नआओस् भनेर कामना गर्छ । हरेक तिहारमा मेरी दिदीको अघिल्तिर हाजिर हुन मन छ । 

मलाई मेरो सपना पूरा गर्नु छ । मलाई मेरो परिवारको बुढेसकालमा टेक्ने लौरो बन्नु छ । यसपालिको जन्म दिनमा यस्तै प्रतिज्ञा मन मनै आफूले आफैँसँग गरेँ । अनि मोबाइलभरि आएका शुभकामना सन्देश हेर्दै पढ्दै मनाएँ । 

मेरो देश नेपालमा यति बेला कति घमाइलो मौसम छ म यहाँ बसेर कल्पना मात्र गर्न सक्छु । यहाँ मेरो आँखा अघिल्तिर त खाडीको तातो बालुवा हावामा उडिरहेको छ । दिन उराठ लाग्दो छ । गगनचुम्बी भवन मात्र छन् । म निरन्तर मेहनत गर्दै छु । एक दिन त म साधैका लागि मेरो गाउँ फर्की आउने छु र फेरि आमाकै काखमा जन्मदिन मनाउने छु । 

अन्तिम अपडेट: फागुन १६, २०८०

तपाईको प्रतिक्रिया