मिटरब्याज पीडित र सरकारी टोलीबीच भोलि फेरि वार्ता हुने

 चैत १७, २०७९ शुक्रबार १७:४०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मिटरब्याज पीडित र सरकारी टाेलीबीच भाेलि शनिवार फेरि वार्ता गर्ने गरी आज शुक्रवारकाे छलफल टुङ्गिएको छ । 

मिटरब्याज पीडितविरुद्ध सङ्घर्ष समितिका संयोजक मनोज पासवानका अनुसार उहाँहरूले बुझाएको १० बुँदे मागमध्ये आज पाँच वटा बुँदामा दफावार छलफल भएकाे र भोलि बिहान ११ बजे फेरि वार्ता गर्ने गरी आजको छलफल टुङ्गिएको छ । 

हिजो बेलुकी ६ बजे वार्ता बस्ने कुरा भए पनि यसअघि सरकारले गठन गरेको आयोगको प्रतिवेदन अध्ययन र छलफल गर्न समय लागेकोले आज बिहान १० बजे बस्ने भनिकाे वार्ता बिहान साढे ७ बजे नै सुरु भएको पनि पासवानले बताउनुभयो । मिटरब्याज पीडितको समस्या अहिले भर्खरको समस्या नभएको र यसअघि पनि सरकारसँग यस्तै प्रकृतिको मुद्दामा सम्झौता भएकोमा त्यस सम्झौतालाई सरकारले कार्यान्वयन नगरेका कारण अहिले आफूहरूले राखेको दश बुँदे मागमा मिहिन ढङ्गले दफावार छलफल भएको उहाँले बताउनुभयो । 

मिटरब्याजीहरूले अदालतबाट आफ्नो पक्षमा फैसला गराएका कारण पीडितले कानुनीरूपमा न्याय पाउने आश नभएका कारण अहिले एउटा शक्तिशाली आयोग गठन र तमसुक खारेज सम्बन्धमा विशेष छलफल भइरहेको पनि संयाेजक पासवानकाे भनाइ छ । अहिले तमसुक मिटरब्याजीहरूको पक्षमा रहेकाे र त्यही तमसुकका आधारमा उनीहरूले आफ्नो पक्षमा फैसला गराउने गरेका कारण कानुन र अदालत दुवै मिटरब्याज पीडितको पक्षमा नभएको उहाँले बताउनुभयाे । यस्ताे अवस्थामा अदालतबाट पीडितको गुमेको सम्पत्ति फिर्ता हुन नसक्ने हुँदा यो सबै समाधानका लागि पनि नयाँ कानुन बन्नुपर्ने माग सरकारी वार्ता टोलीसमक्ष राखेको उहाँले जनाउनुभयाे । 

आयोगले के–के काम गर्ने, कसरी काम गर्ने भन्ने सन्दर्भमा आज पनि पूर्णरूपमा छलफल हुन नसकेका कारण भोलि फेरि वार्तामा बस्न लागिएको संयाेजक पासवानले जानकारी दिनुभयो । सरकारी टोली पनि यो मिटरब्याज के हो र कसरी समाधान गर्ने भन्नेतर्फ पूर्णरूपमा लागिपरेका कारण वार्ता समस्या समाधान गर्ने गरी अगाडि बढेका कारण पनि समय लागेको उहाँकाे भनाइ छ ।

पासवानका अनुसार सरकारले यसअघि पनि सम्झौता गरेर लागू नगरेका कारण अहिले पनि त्यस्तै हुने डरले जतिसुकै समय लागे पनि निष्कर्ष ननिस्की यहाँबाट नजाने समितिले अडान लिएकाे छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया