पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । बलिदानी दिवसको अवसरमा आज सिरहाको लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि पत्रकारसँगको कुराकानीमा उहाँले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफ्नो पार्टी जसपा नेपाल तत्काल मोर्चामा सहभागी हुने सोंचमा नरहेको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा सक्रिय बनाउन प्रयास गर्दै आउनुभएको छ । २०८० साल असारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । तर पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल समाजवादी मोर्चामा सक्रिय छैन ।
यसअघि हिजो प्रतिपक्षमा रहेका सात दल नेकपा माओवादी केन्द्रसहित, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टीले संयुक्त विज्ञप्ति निकालेर सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन गर्न खोजिरहेको आरोप लगाएका थिए ।
जसपा नेपालका अध्यक्ष यादवले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यस्तै राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । मधेस आन्दोलनको १८ वर्ष पूरा भएको छ । २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी भएको अन्तरिम संविधानमा संघीयता र समावेशिता नसमेटेको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो ।
माघ २ गतेदेखि शुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो । त्यसपछि मधेसभर आन्दोलन चर्किएको थियो । अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । त्यही आन्दोलनको जगमा देशमा संघीयता र संविधान आएको भन्दै हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।