मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीले भेट्दै, सहमति हुनेमा पीडित विश्वस्त

 चैत १८, २०७९ शनिबार ७:३७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मिटरब्याज पीडितलाई भेट्दै हुनुहुन्छ । उहाँले अहिले बिहान मिटरब्याज पीडितसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मिटरब्याजीले उठीबास लगाएपछि न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाण्डौमा आई आन्दोलन गरिरहेका छन् ।  सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ । पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि हरेक जिल्लामा छुट्टै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भए पनि वार्ता टुंगिएको छैन ।

आज प्रधानमन्त्रीलाई भेटेपछि सहमति हुने मिटरब्याज पीडितहरुको विश्वास छ । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानका अनुसार कानुन बनाउने मागमा सरकार सहमत भए पनि पहिलेका घटनालाई कसरी सम्बोधन गर्ने भन्नेमा सरकारी टोलीले अझै विश्वास दिन सकेको छैन ।

मिटरब्याज पीडितहरुले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया