प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
दार्चुला - दार्चुलाका जनप्रतिनिधिले कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।
व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य गेल्बुसिंह बोहरा लगायतको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
तिङ्कर नाका सञ्चालनको मागका साथै तिङ्कर सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्यास गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाइएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो।
दार्चुलाको तिङ्कर नाका भएर सदियौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द छ । तिङ्कर नाका सञ्चालन नहुँदा दार्चुलाको व्यास क्षेत्रका बसोबास गर्नेहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ।
तिङ्कर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र समय कम लाग्ने भएकाले तत्काल तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न समेत जनप्रतिनिधिको माग रहेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई देखाउँदै चीनले नेपालसँगको अन्य सीमा नाका पनि बन्द गरेको छ । रसुवागढी नाका भने तीन वर्षपछि हिजोदेखि पूर्ण रुपमा खुलेको छ।
यस्तै, बन्द रहेको तातोपानी नाका पनि आउँदो वैशाख १८ गतेदेखि खुलाउने तयारी छ ।
‘यो वर्ष रसुवागढी, हिल्सालगायतका नाकाहरु सञ्चालनको तयारी भइरहेकाले तिङ्कर नाका पनि तत्काल खुलाउन तथा दार्चुलाका सीमावर्ती क्षेत्रका बासिन्दाको आवश्यकता सम्बोधन गर्न र स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ।
तिङ्कर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र कम समयमा सञ्चालन गर्न सम्भव भएकाले तत्काल तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न समेत माग गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।