कांग्रेसले बारा २ को उपचुनावमा उपेन्द्र यादवलाई समर्थन गर्ने

 चैत १९, २०७९ आइतबार १३:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । 

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिनुभयाे । उहाँले २०७९ को चुनावभन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपचुनाव हुने तीन क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनुभयो । उहाँले २०७९ को चुनाव बेलाको हकमा भने उपचुनावमा नेताहरूले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘वैशाख १० गते हुने उपचुनावका लागि तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन २ मा जिल्लाका पूर्वसभापति जितनारायण श्रेष्ठ प्रस्तुत गरिसकेका छौँ । बारामा भने हामीले साझा उम्मेदवार प्रस्तुत गर्ने गरी उपेन्द्र यादवलाई स्वीकार्ने निर्णय गरेका छौँ ।’

सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले अघिल्लो कार्यसम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनका लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्ने गरी पारित गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया