बन्दीपुरमा सडक खाना महोत्सव हुने

 चैत १९, २०७९ आइतबार १४:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तनहुँकाे पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बन्दीपुर सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३० गतेदेखि सुरु हुने महोत्सव आउँदाे वैशाख २ गतेसम्म चल्ने छ ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताउनुभयाे । ‘बन्दीपुरको पर्यटन बिस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिने सडक खाना महोत्सवले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयाे ।

सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । ‘साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ’,अध्यक्ष प्रधानले भन्नुभयाे ।

नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवर्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले बताउनुभयाे ।  

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

बन्दीपुरको पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया