प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा चढ्नका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ ।
बुधवार उहाँ त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो । शारीरिक रूपमा अशक्त रहनुभएका उहाँका दुवै गाेडा छैनन् । उहाँ कृत्रिम (प्रोस्थेटिक) गाेडाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । उहाँ कृत्रिम गाेडाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर 'स्काई ड्राइभिङ' गर्ने पहिलो व्यक्तिसमेत हुनुहुन्छ ।
सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बुढामगरले पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीलाई खुसी दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले आफ्ना लागि सगरमाथा आरोहणको समय दुई महिनाको हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पाँच वर्षको धेरै अड्चनपछि फाइनल्ली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुसी छु । ममात्रै होइन, मजस्ता धेरै अशक्त व्यक्तिहरूलाई सगरमाथा चढाउनु छ । हिमाल चढ्न चाहनेलाई हिमाल चढाउनु छ ।’
सन् २०१० मा अफगानिस्तानको लडाइँमा उहाँले दुवै गाेडा गुमाउनुभएको थियो । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल चढिसक्नुभएकाे छ । उहाँको जन्म रोल्पाको मिरुल गाउँमा सन् १९७९ मा भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।