ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान हुँदै, दोलखामा मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिँदै

 चैत २४, २०७९ शुक्रबार ७:५०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ ।

दिउँसो ४ बजेपछि मच्छिन्द्रनाथलाई लगनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास निकालेर कलशमा राखेको पुजारी विनोद बज्राचार्यले बताउनु भयो  । बज्राचार्यका अनुसार महास्नान पछि ७ दिन मूर्तिलाई गुप्तबासमा राखेर आउँदो अष्टमीका दिन मर्मत सम्भार गरेर रंगरोगन गरिनेछ ।

यसपालि रातो मच्छिन्द्रनाथलाई २०८० बैशाख ८  गते रथारोहण गरेर  ११ गतेदेखि रथयात्रा शुरु हुनेछ । रातो मच्छिन्द्रनाथको महास्नानसँगै आज बेलुकी रथ बनाउनको लागि साइत पूजा हुँदैछ । महास्नान गरेपछि बेलुकी साइत पुजा गरिने बाराही नाइके दिल कुमार बाराहीले बनाउनु भयो । आज साइत पुजा गरेर भोलिबाट पुल्चोकमा रथ बनाउन शुरु हुने बाराहीले बताउनु भयो । 

यस्तै, दोलखाको मच्छिन्द्रनाथको मूर्तिलाई आज रथारोहण गरिँदैछ ।  हरेक वर्ष दोलखाको मच्छिन्द्रनाथलाई चैत शुक्ल पूर्णिमाका दिन महास्नान गरेर प्रतिपदाका दिन रथारोहण गरिन्छ ।  मच्छिन्द्रनाथको मूर्तिलाई पिगला टोलमा बनाएको रथमा रथारोहण गरेर भोलिदेखि दोलखामा मच्छिन्द्रनाथको रथयात्रा शुरु हुनेछ । उकालो, ओरालो, सिंढीमा पनि तानिनुपर्ने भएकोले दोलखाको रातो मच्छिन्द्रनाथको रथमा विशेष खालको पाँग्रा राखिएको हुन्छ ।

जात्राको क्रममा मुख्य आकर्षण टसिचा टोलबाट थापन बुद्धस्तुपासम्मको रथयात्रालाई मानिन्छ। यो रथयात्राको क्रमा ६० डिग्रीको उकालो तान्नु पर्ने भएकोले रथयात्राको क्रममा यसलाई विशेष दिनको रुपमा मानिएको हो । यसवर्ष आउँदो २८ गतेका दिन रथलाई टसिचा टोलबाट थापन बुद्धस्तुपासम्म तानिनेछ। बैशाख १ गते पिगला टोलबाट डोकलुगटोलमा मूर्तिलाई भित्र्याएसँगै जात्रा सकिनेछ । हिजो  पिगला टोलमा मच्छिन्द्रनाथलाई दुधमा डुबाएर महास्नान गरिएसँगै जात्रा शुरु भएको होे ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया